मेस्सीलाई साउदी अरेबियन क्लबले रोनाल्डो भन्दा दोब्बर मूल्य तिर्न तयार
काठमाडौंँ । पेरिस सेन्ट–जर्मेन (पिएसजी)सँग सम्झौता समाप्त भएपछि साउदी अरब क्लबले लियोनल मेस्सीलाई भित्रयाउन खोजिरहेको छ । क्लबले अर्जेन्टिनाका कप्तानलाई फुटबल इतिहासकै सबैभन्दा आकर्षक तलब प्रस्ताव गर्ने तयारी गरेको छ।
द टेलिग्राफमा बुधबार प्रकाशित रिपोर्ट अनुसार मेस्सीका प्रतिनिधि र रियादबीच मेस्सीलाई साउदी प्रो लिगमा ल्याउन वार्ता भइरहेको छ। साउदी अरेबियाले मेस्सीलाई आफ्नो लिग खेल्न वार्षिक ४०० मिलियन डलर तिर्न सक्ने जनाएको छ । जुन क्रिस्टियानो रोनाल्डोले २०२५ को गर्मीसम्म साउदी अरबमा खेल्नको लागि बार्षिक रुपमा लिएको २० करोड डलरभन्दा दोब्बर हो।
फ्रान्सेली खेल पत्रिका ल इक्विपले मंगलबार पीएसजीले मेस्सी सँगको सम्झौता समाप्त गर्ने निर्णय गरेको जनाएको छ । पीएसजीका प्रबन्धक क्रिस्टोफ गाल्टियरले मेस्सीलाई साउदी अरबको अनाधिकृत भ्रमण गरेको भन्दै दुई साताका लागि निलम्बन गरेको छ । मेस्सी क्लब व्यवस्थापकको अनुमति बिना रियाद गएका थिए। जसकारण क्लब प्रशासनले मेस्सीसँगको सम्झौता खारेज गर्ने निर्णय गरेको छ ।
मेस्सी सन् २०२१ मा बार्सिलोनाबाट बाहिरिएपछि दुई वर्षको सम्झौतामा पीएसजीमा आबद्ध भएका थिए। पीएसजीसँगको उनको सम्झौता यसै वर्ष सकिँदैछ । मेस्सीले हालै कतारमा भएको फिफा विश्वकप जित्ने अर्जेन्टिना टोलीको कप्तानी गरेका थिए । उनी उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत चुनिएका थिए ।

टिप्पणी लेख्नुहोस्