लेख विवरण

मेस्सी म्याराडोना र पेलेको क्लबमा आबद्ध हुनबाट मात्र एक पाइला टाँढा

मेस्सी म्याराडोना र पेलेको क्लबमा आबद्ध हुनबाट मात्र एक पाइला टाँढा

काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेस्सी ‘ड्रिम फाइनल’मा पुगेका छन् । मंगलबार भएको सेमिफाइनल खेलमा टोलीले क्रोएसियालाई ३–० ले हराएको थियो । योसँगै अर्जेन्टिनाले आठ वर्षपछि विश्वकप फाइनलमा स्थान पक्का गरेको छ । आठ वर्षअघि मेस्सीको कप्तानीमा फाइनल पुगेको अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो । यसपटक उपाधि खेलमा अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ ।

आइतबार मेस्सीले विश्वकपको अन्तिम फाइनल खेल खेल्दैछन् । क्रोएसियाविरुद्धको सेमिफाइनल जितपछि उनले यो फाइनल आफ्नो विश्वकपको अन्तिम खेल हुने बताएका छन् । मेस्सीले धेरै वर्षदेखि विश्वकप ट्रफी उचाल्ने सपना देखेका छन् र अब उनीसँग त्यो सपना पूरा गर्ने अन्तिम मौका हुनेछ। योसँगै उनी डिएगो म्याराडोना र पेलेजस्ता उत्कृष्ट खेलाडी बन्नबाट एक कदम टाढा रहेका छन् ।

मेस्सीले आफ्नो करियरमा ठूला उपाधिहरु हात पारेका छन् । उनले दुई पटक फिफा विश्वकपको उत्कृष्ट खेलाडी, सात पटक बालोन डी’ओरको उपाधि जितेका छन । मेस्सी तीन पटक फिफा क्लब विश्वकपको विजेता, एकपटक कोपा अमेरिकाको उपाधि जितेका छन । साथै उनले चार पटक च्याम्पियन्स लिगको उपाधि पनि जितेका छन ।

मेस्सीले लगभग फुटबलका सबै प्रमुख उपाधि जितिसके पनि विश्वकपको उपाधि भने जित्न सकेका छैनन् । यसका लागि उनको धेरै पटक आलोचना समेत भएको थियो । सन् २०१४ मा विश्वकप ट्रफी जित्ने मौका पाएको बेला उनको टोली फाइनलमा जर्मनीसँग पराजित भएको थियो र उपाधि जित्न नसकेपछि उनको आलोचना समेत भएको थियो । यसैबीच मेस्सीले एकपटक सन्यासको घोषणा समेत गरेका थिए । तर उनले आफ्नो सपना जीवितै राखे । उनी सन्यासबाट बाहिरिएर मैदान फर्किए र करियरको पहिलो कोपा अमेरिकाको उपाधि जितेका थिए । अब मेस्सी आफ्नो अन्तिम विश्वकपमा फाइनलमा प्रवेश पुगेका छन्।

अर्जेन्टिना ३६ वर्षदेखि विश्वकप ट्रफीको प्रतिक्षामा छ । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा विश्वकप जितेको थियो । त्यसबखत म्याराडोना अर्जेन्टिना हिरो बनेका थिए । मेस्सी मात्रै एक यस्ता खेलाडी हुन जो म्याराडोनाको किर्तिमान नजिक आए, तर सबैले विश्वकप जित्न नसकेकोमा उनको महानतामा औंला उठाइरहेका थिए। यदि मेस्सीले अर्जेन्टिनाका लागि विश्वकप जितेमा उनी म्याराडोना र पेलेको क्लबमा सामेल हुनेछन् र उनको महानतामा कसैले औंला उठाउन सक्ने छैनन्।

बार्सिलोना क्लबबाट कीर्तिमान ३५ उपाधि, स्पेनिस लिग ला लिगामा ४७४ गोल, एउटै क्लब (बार्सिलोना)का लागि सर्वाधिक ६७२ गोल गरेर मेस्सी सधैं चर्चाको केन्द्रमा रहेका छन। मेस्सीले विश्वकप जित्न नसक्नु सधैं पीडादायी रह्यो । कतार विश्वकपमा पनि साउदी अरेबियाले मेस्सीको अर्जेन्टिनालाई हराउँदा सबै स्तब्ध भएका थिए, उनको सपना पूरा नहुने देखियो र फेरि उनको आलोचना भयो । तर साउदी अरेबिया पछि मेस्सी र अर्जेन्टिनाले प्रत्येक खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दे फाइनलको टिकट बुक गर्यो र त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन । त्यसकारण कतार विश्वकप अहिले जताततै मेस्सीमय भएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.