मोइन अलीको आक्रमक ब्याटिङमा इंग्ल्यान्डद्धारा वेस्ट इन्डिज पराजित
काठमाडौं । कार्यवाहक कप्तान मोइन अलीको अलराउण्ड प्रदर्शनमा इंग्ल्याण्डले वेष्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै पाँच म्याचको शृंखलामा २–२ को बराबरी गरेको छ । चोटका कारण श्रृङ्खलाबाट बाहिरिएका नियमित कप्तान इओइन मोर्गनको ठाउमा टिमको नेतृत्व गरिरहेका मोइनले एक चौंका र सात छक्काको मद्दतमा २८ बलमा ६३ रन बनाए।
उनको पारीको मद्दतले इंग्ल्याण्डले अन्तिम ३ ओभरमा ५९ रन जोडदै ६ विकेटको क्षतिमा १९३ रनको चुनौतीपूर्ण स्कोर खडा गर्यो । टोलीका ओपनर जेसन रोयले ४२ बलमा ५२ रनको योगदान दिए । त्यसपछि बलिङमा स्पिनर मोइनले चार ओभरमा २८ रन दिदै दुई विकेट लिए । वेस्ट इन्डिजले पाँच विकेटको क्षतिमा मात्र १५९ रन बनायो ।
वेस्ट इन्डिजका लागि ओपनर काइल मायर्सले २३ बलबाट ४० रन बनाए भने जेसन होल्डरले दुई चौका र तीन छक्काको सहायताले २४ बलमा ३६ रन बनाए। पाँचौं र अन्तिम खेल आइतबार ब्रिजटाउनमा खेलिनेछ।
मोइनले १८ औं ओभरमा होल्डरको बलमा लगातार चारवटा छक्का हिर्काए। वेस्ट इन्डिजलाई अन्तिम चार ओभरमा ६१ रन चाहिएको थियो तर क्रिस जोर्डन र रीस टोटलीले कसिलो बलिङ गरेपछि टोलीले हारको समाना गर्यो ।

टिप्पणी लेख्नुहोस्