यशस्वीको विस्फोटक इनिङ्समा राजस्थान विजयी
काठमाडौँं । इन्डियन प्रिमियर लिग (आईपीएल) को ५६ औँ खेलमा राजस्थान रोयल्सले यशस्वी जैसवालको विस्फोटक इनिङ्सको मद्दतमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेको छ । इडेन गार्डेन स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । जवाफमा जैसवालले ४७ बलमा नटआउट ९८ रन बनाउदै १३.१ ओभरमा टोलीलाई जित दिलाए ।
राजस्थानका सञ्जु सामसन २९ बलमा ४८ रन बनाएर नटआउट रहे । पहिलो इनिङ्समा युजभेन्द्र चहलले ४ र ट्रेन्ट बोल्टले २ विकेट लिए । जितसँगै राजस्थान अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । हारसँगै कोलकातालाई प्लेअफमा पुग्न कठिन भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताको सुरुवात खराब रह्यो । टोलीलाई राजस्थानका ट्रेन्ट बोल्टले शुरुवाती ओभरमा २ झटका दिदै दुबै ओपनर विकेट लिए । कोलकाताले पहिलो ६ ओभरमा ३७ रन मात्र जोड्न सक्यो । राजस्थानका युजभेन्द्र चहलले पनि केकेआरका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । उनले ४ विकेट लिदा कोलकाताले २० ओभरमा १४९ रन मात्र जोड्न सक्यो ।
कोलकाताका लागि वेंकटेश अय्यरले ५७ रन बनाए । उनी बाहेक अरु कुनै ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । जेसन रोय १०, रहमानउल्लाह गुरबाज १८, नितिश राना २२, आन्द्रे रसेल १०, रिंकु सिंह १६, शार्दुल ठाकुर १ र सुनिल नारायणले ६ रन बनाए । अनुकुल रोय ६ रनमा नटआउट रहे । राजस्थानका युजभेन्द्र चहलले ४ विकेट लिए । उनी बाहेक ट्रेन्ट बोल्टले २ तथा सन्दीप शर्मा र केएम आसिफले १–१ विकेट लिए ।
१५० रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानका यशस्वी जैसवालले पहिलो ओभरमै २६ रन बनाए । उनले १३ बलमा अर्धशतक पूरा गर्दै ९८ रनको नटआउट इनिङ खेल्दै ४१ बल बाँकी रहँदै टोलीलाई जित दिलाए । आईपीएल इतिहासमा यशस्वीको सबैभन्दा छिटो अर्धशतक हो। यसअघि यो कीर्तिमान केएल राहुल र प्याट कमिन्सको नाममा थियो । राहुलले २०१८ मा र कमिन्सले २०२२ मा १४ बलमा अर्धशतक पूरा गरेका थिए।
पावरप्लेमा बटलरको विकेट गुमाएपछि यशस्वी जसवालले सञ्जु स्यामसनसँग इनिङ्सलाई अगाडि बढाएका थिए । दुबैले १२१ रनको अविजित साझेदारी गर्दै १३.१ ओभरमा टोलीलाई जित दिलाए । यशस्वीले ४७ बलमा ९८ र सामसनले २९ बलमा अविजित ४८ रन बनाए । कोलकाताबाट कुनै पनि बलरले विकेट लिन सकेनन् । राजस्थानका एक खेलाडी रनआउट भएका थिए ।
कोलकाता विरुद्ध ४ विकेट लिएर युजभेन्द्र चहल आईपीएल इतिहासमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले १४३ खेलमा १८७ विकेट लिएका छन् । चहलपछि वेस्ट इन्डिजका ड्वेन ब्राभो १८३ विकेट लिएर दोस्रो स्थानमा छन् । चहल यो सिजनको सर्वाधिक विकेट लिने खेलाडी पनि बनेका छन् । उनले १२ खेलमा २१ विकेट लिएका छन् ।

टिप्पणी लेख्नुहोस्