युरोपेली फुटबलको प्रशासकीय निकायले रुसी टोलीमाथि लगायो प्रतिबन्ध
जेनेभा। रुसी टोलीलाई युरोपेली फुटबलको प्रशासकीय निकायले च्याम्पियन्स लिग र अन्य सबै युरोपेली लिगमा भाग लिन प्रतिबन्ध लगाएको छ । जस कारण रुसका फुटबल टोलीहरू महिला युरोप च्याम्पियनसिप, पुरुष च्याम्पियन्स लिग र २०२३ को महिला विश्वकप छनोटबाट बाहिरिएका छन्। युक्रेनमा रुसले गरेको सैन्य आक्रमणका कारण रुसी टोलीमाथि यी प्रतिबन्धहरू लगाइएको जनाइएको छ ।
यसअघि गत फेब्रुअरीमा फिफा र युइएफएले रुसको राष्ट्रिय टोली र क्लबहरुलाई पुरुष विश्वकप प्लेअफलगायत अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाएको थियो। रुसी फुटबल महासंघले उक्त निर्णयविरुद्ध खेलकुद मध्यस्थतामा अपील गरेको छ । यसबाहेक, पछिल्लो प्रतिबन्धहरू विरुद्ध अपील पनि दायर हुने सम्भावना छ।
रुसको प्रतिबन्धपछि पोर्चुगललगायत केही टोलीलाई फाइदा भएको छ । युइएफएले जुलाईमा आयोजना हुने महिला युरो २०२२ मा पोर्चुगलले रुसको ठाँउमा भाग लिने जनाएको छ । प्रतियोगितामा पोर्चुगललाई हराउँदै रुस प्लेअफमा पुगेको थियो ।
योसँगै च्याम्पियन्स लिगमा स्कटल्याण्डको च्याम्पियन टोलीले रुसी प्रिमियर लिग विजेता जेनिट सेन्ट पिटर्सबर्गलाई प्रतिस्थापन गर्नेछ। यस सिजनको च्याम्पियन्स लिगको फाइनल रुसको सट्टा पेरिसमा हुनेछ । रुसले अर्को सिजनको युरोपा लिग र युरोपा कन्फरेन्स लिगमा पनि स्थान नपाउने भएको छ । योसँगै पुरुष युरो २०२८ वा २०३२ को आयोजना गर्ने रुसको दाबी पनि खारेज भएको छ ।

टिप्पणी लेख्नुहोस्