लेख विवरण

युरोपेली युनियनले कर्णालीमा महिला फुटबलमा सहभागिता बढाउन सहकार्य गर्दै

युरोपेली युनियनले कर्णालीमा महिला फुटबलमा सहभागिता बढाउन सहकार्य गर्दै

सुर्खेत । नेपालस्थित युरोपेली युनियन (इयू) ले कर्णालीमा महिला फुटबलमा सहभागिता बढाउन सहकार्य गर्ने भएको छ । आज नेपालस्थित युरोपेली युनियन (इयू) को प्रतिनिधिमण्डलका कार्यवाहक प्रमुख जोएले हिभोनेट र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालबीच भएको भेटवार्तामा हिभोनेटले कर्णाली प्रदेशमा महिला फुटबललाई प्रोत्साहन गर्न, महिला खेलाडीको सहभागिता बढाउन इयूले लगानी गर्न गैरसरकारी संस्थामार्फत सहकार्यको सुरुआत भएको जानकारी दिए ।

“महिलालाई फुटबलको तालिम दिने, वृत्ति विकासका लागि लगानी बढाइनेछ”, उनले भने, “यसले महिलाको आत्मविश्वास बढाउनेछ, महिलालाई खेलकुदतर्फ आकर्षण बढाउने विश्वास लिएका छौँ ।”

नेपाल युरोपेली युनियन चलचित्र महोत्सव उद्घाटनका सिलसिलामा सुर्खेत आएकी हिभोनेटले नेपाल र विशेषगरी कर्णाली प्रदेशमा सञ्चालन गरेका परियोजना, भावी योजना, महिला सशक्तीकरण र समावेशीकरण लगायतका विषयमा कुराकानी गरिन् ।

उनले लैङ्गिक सशक्तीकरणसम्बन्धी परियोजना सञ्चालन गर्न नेपाल सरकारसँग हालै सम्झौता भएको बताइन । भेटवार्तामा नगर प्रमुख ढकालले नगरपालिकाले महिला सशक्तीकरण र महिला स्वास्थ्य तथा सुरक्षाका क्षेत्रमा सञ्चालन गरेका क्रियाकलापबारे जानकारी दिए ।

नगरपालिकाले महिलालाई सीपमूलक तालिम, स्वास्थ्य संस्थाबाट निःशुल्क स्यानिटरी प्याड वितरण, निःशुल्क गर्भजाँच, सुत्केरी सेवालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको र यसले महिलाको स्वास्थ्य र आयआर्जनमा ठूलो टेवा पुगेको बताए । इयूले महिलाको प्रतिनिधित्व र सशक्तीकरणलाई मुख्य चासो दिएकामा उनले धन्यवाद व्यक्त गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.