यु–१६ क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक
जनकपुर । यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेशस्तरीय छनोट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । प्रतियोगिता यही चैत २९ गतेदेखि हुने छ ।
सहभागी हुने प्रदेशका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको मधेश प्रदेश क्रिकेट सङ्घले जनाएको छ । समूह ‘ए’मा बारा, पर्सा, रौतहट र सर्लाही तथा समूह ‘बी’ मा सप्तरी, सिरहा, धनुषा र महोत्तरी रहेका छन् । बारोको कलैया क्रिकेट मैदानमा प्रतियोगिताको उद्घाटन खेल बारा र रौतहटबीच हुने छ । सोही दिन अर्को खेलमा पर्सा र सर्लाही भिड्ने छन् ।
प्रदेश क्रिकेट सङ्घ अनुसार प्रतियोगिताको सेमिफाइन र फाइनल खेलको मिति पछि तय गरिनेछ । उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा प्रदेश टोलीको घोषणा हुनेछ । उक्त टोलीले यु–१६ राष्ट्रिय प्रतियोगिता खेल्नेछ । नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको एसिया पूर्वी क्षेत्रीय प्रतियोगितालाई ध्यानमा राख्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय छनोट प्रतियोगिता गरिरहेको छ ।

टिप्पणी लेख्नुहोस्