लेख विवरण

यु–१६ क्रिकेट : धनुषा र महोत्तरी विजयी

यु–१६ क्रिकेट : धनुषा र महोत्तरी विजयी

जनकपुर । यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश स्तरिय छनोट प्रतियोगितामा धनुषा र महोत्तरी विजयी भएका छन ।

बारामा जारी प्रतियोगिताको खेलमा धनुषाले सप्तरीलाई ८९ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको धनुषाले ३० ओभरमा ७ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । टोलीका लागि चन्दन कुमार यादवले अर्धसतक प्रहार गरे । उनले ५५ बलमा ५१ रन बनाए । अली अकबर अन्सारीले ४८ बलमा ३९ रनको योगदान दिए । सप्तरीका लागि बलिङमा सुमन चौधरी र पप्पु यादवले समान २–२ विकेट लिए ।

धनुषाले दिएको १ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा सप्तरीको टोली २३ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा रोकियो । सप्तरीका लागि प्रबेश यादव (२१) र वसन्त यादवले (१८) रन बनाए । धनुषाका लागि बलिङमा राजेश यादवले सर्वाधिक ३ विकेट लिए । रुपेश यादवले २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच धनुषाका चन्दन कुमार यादव भए ।

आजै भएको अर्को खेलमा महोत्तरीले सिरहालाई ८ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको महोत्तरीले ३० ओभरमा १० विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । टोलीका लागि सर्फराज अंसारीले सर्वाधिक ३२ रन बनाए । नितेश यादवले २४ रन बनाए । सिरहाका लागि बलिङमा विजय यादवले सर्वाधिक ४ विकेट लिए । नरेश कमैतले ३ विकेट लिए ।

महोत्तरीले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याउने क्रममा सिरहाको टोलीले ३० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनायो । टोलीका लागि निशान्त यादव र अरमान शेखले समान ३७–३७ रन बनाए । महोत्तरीका लागि बलिङमा राजिब सडा र मोबारक नदाफले समान २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच कृष्ण महतो भए ।

प्रतियोगिता अन्तर्गत समूह ‘ए’मा बारा, पर्सा, रौतहट र सर्लाही तथा समूह ‘बी’ मा सप्तरी, सिरहा, धनुषा र महोत्तरी रहेका छन् ।

मधेश प्रदेश क्रिकेट सङ्घका अनुसार प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा प्रदेश टोलीको घोषणा हुनेछ । उक्त टोलीले यु–१६ राष्ट्रिय प्रतियोगिता खेल्नेछ ।

नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको एसिया पूर्वी क्षेत्रीय प्रतियोगितालाई ध्यानमा राख्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय छनोट प्रतियोगिता गरिरहेको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.