लेख विवरण

यु–१६ क्रिकेट : धनुषा र सप्तरी विजयी

यु–१६ क्रिकेट : धनुषा र सप्तरी विजयी

रौतहट । यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश स्तरिय छनोट प्रतियोगितामा धनुषा र सप्तरी विजयी भएका छन ।

बारामा जारी प्रतियोगिता अन्तर्गत आईतवार भएको पहिलो खेलमा सप्तरीले महोत्तरीलाई ९ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको महोत्तरीले २७ ओभर २ बलमा अलआउट हुँदै १ सय २६ रन बनाएको थियो । टोलीका लागि आदित्य मण्डलले सर्वाधिक ३९ रन बनाए । सर्फराज अंसारी (२९) र पल्टु सडाले (१६) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । सप्तरीका अजय यादवले ५ ओभर २ बलमा १८ रन खर्चेर सर्वाधिक ६ विकेट लिए । राहुल बिकले पनि ५ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । शुसान्त देबले १ विकेट लिए ।

महोत्तरीले दिएको १ सय २७ रनको लक्ष्य सप्तरीले १९ ओभर २ बलमा १ विकेट गुमाएर पुरा गर्यो । टोलीको जितमा भोला साहले ६२ रनको अविजित पारी खेले । अर्धसतक प्रहार गरेका भोलाले ४० बलको सामना गर्दै ८ चौंका र २ छक्का प्रहार गरे । बिशाल यादवले ४४ रन बनाउदा प्रवेश यादव ७ रनमा अविजित रहे । महोत्तरीका लागि कष्णा महतोले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सप्तरीका अजय यादव भए ।

आजै भएको दोस्रो खेलमा धनुषाले सिरहालाई १ सय ३१ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको धनुषाले २९ ओभर १ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो । टोलीका लागि चन्दन कुमार यादवले ५१ बलमा ५७ रनको योगदान दिए । उनले ८ चौंका र १ छक्का प्रहार गरे । अलि अकबर अंसारी (४०) र सोहिल राइनले (३९) रन बनाए । सिरहाका लागि बलिङमा विजय शंकर यादवले सर्वाधिक ३ विकेट लिए । नरेश कमाइत र प्रविण कुमार मुखियाले समान २-२ विकेट लिदा आनन्द कमाइतले १ विकेट लिए ।

धनुषाले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा सिरहाको टोली १६ ओभर ५ बलमा ४७ रन बनाउदै अलआउट भयो । टोलीका लागि अभिषेक यादवले १९ रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । सिरहालाई कम स्कोरमा रोक्न धनुषाका रुपेश यादवले ४ ओभर ५ बलमा १६ रन खर्चेर ४ विकेट लिए । सुमन रोयले २ विकेट लिदा रोहन यादव, राजेश दास र अरमान राइनले १-१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच धनुषाका चन्दन कुमार यादव भए ।

प्रतियोगिता अन्तर्गत समूह ‘ए’मा बारा, पर्सा, रौतहट र सर्लाही तथा समूह ‘बी’ मा सप्तरी, सिरहा, धनुषा र महोत्तरी रहेका छन् ।

मधेश प्रदेश क्रिकेट सङ्घका अनुसार प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा प्रदेश टोलीको घोषणा हुनेछ । उक्त टोलीले यु–१६ राष्ट्रिय प्रतियोगिता खेल्नेछ ।

नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको एसिया पूर्वी क्षेत्रीय प्रतियोगितालाई ध्यानमा राख्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय छनोट प्रतियोगिता गरिरहेको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.