यु १९ राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेश विजयी
काठमाडौं । यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई १०९ रनले पराजित गरेको हो । गण्डकीको जितमा सुबाश भण्डारी एक्लैले ६ विकेट लिए । खेलको म्यान अफ द म्याच बनेका उनले १० ओभरमा ३ मेडन सहित २७ रन खर्चिए । टोलीका लागि चिब्रिन श्रेष्ठले ३ विकेट लिदा नितेश गिरीको नाममा १ विकेट रह्यो । गण्डकीले दिएको २३५ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीको टोली ३० ओभरमा १२५ रन बनाउदै अलआउट भयो । कर्णालीका लागि सुवाश अयरले सर्वाधिक ३२ रन बनाए । कप्तान बिपिन रावल (१९), ओपनर मनिष थापा (१८) र युनिश सिंह (१२) रन बनाएर आउट भए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकी प्रदेशले ओपनरद्धय गोविन्द कार्की र अर्जुन कुमालको अर्धसतकीय पारीमा ५० ओभरको खेलमा ७ विकेट गुमाउदै २३४ रन बनायो । गोविन्दले ८७ बलको सामना गर्दै १ छक्का र ७ चौंकाको मद्दतमा ५५ रन बनाए । अर्जुन कुमालले १०६ बलको सामना गर्दै ३ चौंकाको मद्दतले ५० रन बनाए । विकेट किपर दिपक डुम्रेले २७ बलमा २ छक्का र ४ चौंकाको मद्दतले ४४ रन बनाए । चिबिरन श्रेष्ठ २६ रनमा आउट हुँदा कप्तान सुवाश भण्डारी २१ रनमा अविजित रहे । कर्णालीका लागि बलिङमा आवाश शाहले ३ विकेट लिदा मोहन बिक र बिनित खत्रीको नाममा क्रमशः २ र १ विकेट रह्यो ।
प्रतियोगितामा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । अंक तालिकाको शिर्ष स्थानमा रहने टोलीले सोमवार फाइलमा प्रतिस्पर्धा गर्नेछ ।

टिप्पणी लेख्नुहोस्