यु-१९ राष्ट्रिय क्रिकेट : बागमती प्रदेश विजयी
काठमाडौँ । यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश विजयी भएको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।
कर्णालीले दिएको १३१ रनको लक्ष्य बागमती प्रदेशले ३१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बागमतीको जितमा टोलीका कप्तान अशोक पौडेलले अर्धसतकीय पारी खेल्ने क्रममा ५९ रन बनाए । उनले ६४ बलको सामना गर्दै सात चौंका र एक छक्का प्रहार गरे । ओपनर लक्की कठायतले पनि अर्धसतकीय पारी खेल्दै अविजित ५१ रन बनाए । उनले ९२ बलमा आठ चौंका प्रहार गरे । अर्का ओपनर सक्षम बस्ताकोटी २ रन बनाए हुँदा योगेश भाट २ रनमा अविजित रहे । कर्णालीका लागि बलिङमा अनुज चुनारा, युनिश सिंह र आवाश शाहले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले ३६.२ ओभरमा अलआउट हुँदै १३० रन बनाएको थियो । टोलीका लागि कप्तान बिपिन रावलले अर्धसतकीय पारी खेल्दै ६८ रन बनाए । ९२ बलको सामना गर्ने क्रममा उनले ९ चौंका प्रहार गरे । ओपनर मनिष थापाले २५ रन बनाउदा अनिरुद्र कुँवर ११ रन बनाएर आउट भए । त्यसबाहेक कर्णाली प्रदेशका अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । बागमतीका लागि बलिङमा सक्रिय कार्कीले ७.२ ओभरमा २ मेडन सहित २३ रन खर्चेर ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच भए । टोलीका लागि अहमद राजाले ३ विकेट लिदा ओमकार यादव र अभिषेक कोइरालाले समान एक एक विकेट लिए ।
सिंगल राउन्ड रोविनको आधारमा जारी प्रतियोगितामा बागमती प्रदेशको ४ खेलमा ८ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । सुदूरपश्चिम ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । प्रतियोगितामा शीर्ष दुईमा पर्ने टोलीले मंसिर १९ मा फाइनल खेल्नेछन् ।

टिप्पणी लेख्नुहोस्