यु १९ राष्ट्रिय क्रिकेट : लुम्बिनी प्रदेश विजयी
काठमाडौँ । यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले बागमती प्रदेशलाई पराजित गर्दै विजयी भएको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ८५ रनले पराजित गर्दै विजयी भएको हो । लुम्बिनीको जितमा खेलको म्यान अफ द म्याच बनेका दुर्गेश गुप्ताले सर्वाधिक ४ विकेट लिए । उनले ५.३ ओभर बलिङ गर्दै १५ रन खर्चे । टोलीका लागि अभिषेक गौतम र तुल बहादुर थापाले पनि समान २-२ विकेट लिए । निर्मल गुरुङ नर सार्कीको नाममा एक एक विकेट रह्यो ।
लुम्बिनीले दिएको २३५ रनको लक्ष्य पछ्याउने क्रममा बागमती प्रदेशको टोली ३५.३ ओभरमा १४९ रन बनाउदै अलआउट भयो । टोलीका लागि कप्तान अशोक पौडेलले सर्वाधिक ३१ रन बनाए । प्रतिक श्रेष्ठ (२७), रोशन बिक (२३), ओमकार यादव (१६), योगेश भाट (१३) र उत्तम थापा मगर (११) रन बनाएर आउट भए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ४९ ओभरमा अलआउट हुँदै २३४ रन बनाएको थियो । टोलीका लागि ओपनर देव खनालले सर्वाधिक ४६ रन बनाए । अर्का ओपनर आकाश त्रिपाठी ४० रन बनाएर आउट भए । १० औं नम्बरमा ब्याटिङ गर्न आएका दुर्गेश गुप्ताले आक्रमक ब्याटिङ गर्दै २५ बलमा एक छक्का र ६ चौंकाको मद्दतले ३८ रन बनाए । तुल बहादुर थापा (२८), बिशाल भुषाल (३०) र कप्तान बिशाल बिक्रम केसी (११) रन बनाएर आउट भए ।
बागमतीका लागि बलिङमा प्रतिक श्रेष्ठले ३ तथा अभिषेक कोइराला र ओमकार यादवले समान २-२ विकेट लिए । अहमद राजा र योगेश भाटको नाममा एक एक विकेट रह्यो ।
प्रतियोगितामा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ ।

टिप्पणी लेख्नुहोस्