लेख विवरण

यूईएफए सुपर कपको उपाधि भिडन्त आज

यूईएफए सुपर कपको उपाधि भिडन्त आज

म्याड्रिड । स्पेनको च्याम्पियन क्लब रियल म्याड्रिडले ट्रफी जितेर गत सत्र सकाएको थियो। सो क्लबले यस सत्रको सुरुवात ट्रफी जितेर नै गर्न चाहेको छ। यसका लागि रियल म्याड्रिडले बुधबार जर्मनीको आइन्ट्राक्ट फ्रान्कफर्टसँग यूईएफए सुपर कपको उपाधि भिडन्त गर्दैछ। यूएएफए सुपर कप नयाँ सत्रको सुरुवातमा च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच हुने गर्दछ। सो खेल फिनल्यान्डको हेलसिन्कीमा हुनेछ। फिनल्यान्डमा पहिलो पटक यूईएफएको फाइनल हुन लागेको हो।

रियल म्याड्रिड पाँचौँ पटक सुपर कप उपाधि जित्ने अभियानमा रहेको छ। यद्यपि रियल म्याड्रिडले सन् २०१७ पछि यो उपाधि हात पार्न सकेको छैन। जर्मनीको क्लब फ्रान्कफर्टले पहिलो पटक यूईएफए सुपर कपको उपाधि भिडन्त गर्दैछ। युरोपा लिगको फाइनलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा हराएपछि फ्रान्कफर्टले यो प्रतिष्ठित उपाधि भिडन्त गर्ने अवसर प्राप्त गरेको हो। गत सत्रमा युरोपा लिग जितेपछि फ्रान्कफर्टको ४२ वर्षपछि युरोपेली उपाधि जित्ने सपना पूरा भएको थियो। यसअघि सन् १९८० मा फ्रान्कफर्टले यूईएफए कप जितेको थियो। युरोपा लिग जितेपछि फ्रान्कफर्टले यस पटक च्याम्पियन्स लिग पनि खेल्ने भएको छ। फ्रान्कफर्टले युरोपा कपमा अपराजित रहेर उपाधि जितेको हो।

रियल म्याड्रिडले पनि गत सत्र उच्च लयमा छोडेको थियो। स्पेनी लिग सजिलै जितेको रियल म्याड्रिडले फाइनलमा लिभरपुललाई हराएर विश्व क्लब फुटबलको सबभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग पनि जित्यो। रियल म्याड्रिड सबभन्दा बढी १४ पटक च्याम्पियन्स लिग जित्ने टिम हो।

स्पेनको महाशक्ति रियल म्याड्रिडले यसपालि टिममा खासै फेरबदल गरेको छैन। यस सत्रमा पनि करिम बेन्जामा, भिन्सियस जुनियर र रोड्रिगोमाको आक्रमण जिम्मेवारी रहनेछ। यी तीन स्ट्राइकरले गत सत्रमा दबाब बनाएका थिए। मिडफिल्डमा कासिमेरो, लुका मोड्रिच र टोनी क्रुजजस्ता सिर्जनशील खेलाडी यथावत् छन। अझ यस पटक सेन्ट्रल डिफेन्डर एन्टोनियो रुडिगर र मिडफिल्डर अरेलिगन चोउमेनी थपिएका छन।

यसपालि इस्को अलार्कोन र गारेथ बेल भने रियल म्याड्रिडको जर्सीमा देखिनै छैनन । यी दुवैको सम्झौता गत वर्ष समाप्त भएको हो। रियल म्याड्रिडले यस सत्रमा पेरिस सेन्ट जर्मेनबाट किलियन एमबापेलाई ल्याउन भरमग्दुर प्रयास गरेको थियो। जुन प्रयास असफल भएको थियो। त्यसैले यसपालि पनि ३४ वर्षीय बेन्जामानै गोल गर्ने प्रमुख जिम्मेवारी रहनेछ। बेन्जामा गत वर्ष स्पेनी लिग र च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए। म्याड्रिडका लागि उनले ४५ खेलमा ४४ गोल गरेका थिए।

यस सत्रको स्पेनी लिग अर्को हप्ता मात्र सुरु हुनेछ। फ्रान्कफर्टका लागि यो सत्र प्रारम्भ भइसकेको छ। जर्मन कपको पहिलो चरणमा फ्रान्कफर्टले मेग्डेवर्गलाई ४–० ले हराएको थियो तर बुन्डेसलिगाको पहिलो खेलमै फ्रान्कफर्ट च्याम्पियन बायर्न म्युनिखसँग ६–१ ले नराम्ररी हा(यो। त्यसैले पनि सुपर कपअघि रियल म्याड्रिड फाइदामा देखिन्छ।

यद्यपि फ्रान्कफर्टका प्रशिक्षक ओलभर ग्लास्नरले बायर्नविरुद्धको खेलले आफ्नो टिमको आँखा खुलेको र कहिलेकाहीँ बिउँझिन यस्तो हार पनि आवश्यक हुन्छ, भने।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.