यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमद्धारा प्रदेश १ भारी अन्तरले पराजित
काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ लाई २१३ रनले पराजित गरेको छ । टियु मैदानमा भएको खेलमा २६५ रनको लक्ष्य पछ्याएको प्रदेश एक १६.३ ओभरमा ५१ रनमै अलआउट भयो । टोलीका लागि भुपाल डंगोलले १० रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंकमा खाता खोल्न सकेनन । प्रदेश १ लाई सस्तैमा समेटन सुदूरपश्चिमका हेमन्त धामीले ७ ओभरमा २२ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । टोलीका लागि आकाश चन्द र मिलन बोहराले क्रमशः ३ र २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ५० ओभरको खेलमा ९ विकेट गुमाउदै २६४ रन बनायो । टोलीका लागि कप्तान अनुराग सिंहले ८३ रनको योगदान दिए । ११२ बलको सामना गरेका उनले ८ चौंका र १ छक्का प्रहार गरे । त्यस्तै मिलन बोहराले ७६ बलमा ८ चौंका र १ छक्काको मद्दतले ६४ रन बनाए । दिपक बोहरा (३२), गजेन्द्र बोहरा (२४), आकाश चन्द (२०) र बिशाल एयर (१३) रन बनाएर आउट भए ।
प्रदेश १ का लागि बलिङमा अभिनय राजबंशीले सर्वाधिक ४ विकेट लिए । आशिष मगर र दिपेश कँडेलले समान २-२ विकेट लिए । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका हेमन्त धामी भए । ७ प्रदेशका टोलीबीच सिंगल राउन्ड रोविनको आधारमा शीर्ष दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । फाइनल मसिंर १९ मा हुनेछ ।

टिप्पणी लेख्नुहोस्