यू–१९ विश्वकप क्रिकेटको उपाधि भारतलाई
काठमाडौँ । यू–१९ विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । वेस्टइन्डिजमा शनिबार राति सम्पन्न फाइनल खेलमा भारतले इङ्ल्यान्डलाई चार विकेटले हरायो । भारत पाँचौँ पटक यू–१९ विश्वकप च्याम्पियन बनेको हो । भारतले यसअघि सन् २०००, २००८, २०१२ र २०१८ मा च्याम्पियन बनेको थियो ।
जितका लागि एक सय ९० रनको लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । भारतको जितमा निशान्त सिन्धुले अविजित ५० रन बनाए । शेख राशिदले ५०, राज बावाले ३४, हरनुर सिंहले २१ र कप्तान यश धुलले १७ बनाए । बलिङमा इङ्ल्यान्डका जोशुआ बोेयडेन, थोमस एस्पिनवाल र जेम्स सेल्सले समान दुई दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ४४.५ ओभरमा सवै विकेटको क्षतिमा एक सय ८९ रन बनाएको थियो । इङ्ल्यान्डका लागि जेम्स रेवले सर्वाधिक ९५ रन बनाए । जेम्स सेल्सले अविजित ३४ र ओपनर जर्ज थोमसले २७ रन बनाए । बलिङमा भारतका राज बावा एक्लैले पाँच विकेट लिए । राज कुमारले चार विकेट झारे ।

टिप्पणी लेख्नुहोस्