यू-१९ विश्वकप क्रिकेटमा भारतले यूएईलाई हरायो
काठमाडौंँ । यू–१९ महिला टी–२० विश्वकप समूह चरणको दोस्रो खेलमा पनि भारतले जित निकालेको छ । टोलीले युएईलाई १२२ रनको ठूलो अन्तरले पराजित गरेको हो । बेनोनीको विलोमूर पार्कमा टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २१९ रन बनाएको थियो । जवाफमा युएईको टोली २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाउदै सिमित भयो ।
भारतको जितमा कप्तान शेफाली वर्माले ७८, श्वेता सेहरावतले ७४ र विकेटकिपर रिशा घोषले ४९ रन बनाए । श्वेता र शेफालीले आयोजक दक्षिण अफ्रिकाविरुद्धको पहिलो खेलमा पनि प्रभावशाली इनिङ्स खेलेका थिए ।
शेफालीले ३४ बलमा ४ छक्का र १२ चौकाको मद्दतले ७८ रन बनाइन । उनले ओपनर श्वेता सेहरावतसँग पहिलो विकेटका लागि ८.३ ओभरमा १११ रन जोडेकी थिइन।
दक्षिण अफ्रिकाविरुद्धको खेलमा ९२ रनको म्याचविनिङ इनिङ खेलेकी श्वेता सेहरावतले युएईविरुद्ध पनि अर्धशतक प्रहार गरिन् । उनले ४९ बलमा १० चौका प्रहार गर्दे अविजित ७४ रन बनाइन् । कप्तान शेफाली आउट भएपछि श्वेताले दोस्रो विकेटका लागि विकेटकिपर ऋचा घोषसँग ८९ रनको साझेदारी गरेकी थिइन् । श्वेता २९ बलमा ४९ रन बनाएर आउट भइन् । उनले २ छक्का र ५ चौका प्रहार गरिन । यसबाहेक गोंगडी त्रिशाले ५ बलमा ११ रन र सोनिया मेन्धियाले २ रन जोडिन् । युएईका लागि इन्धुजा नन्दकुमार, माहिका गौर र समाइरा धर्निधर्कले १–१ विकेट लिए ।
२२० रनको लक्ष्य पछ्याएको युएईको सुरुवात खराब रह्यो । पहिलो ओभरमै टोलीले कप्तान तीर्थ सतीशको विकेट गुमाएको थियो । त्यसपछि टोली माथी उम्कन सकेन र २० ओभरमा ५ विकेट गुमाएर ९७ रन मात्र जोड्न सफल भयो । युएईकी ओपनर लावन्या केनीले ५४ बलमा २४ रनको निकै सुस्त पारी खेलिन् । महिक गौरले २६ बलमा २६ रन बनाइन । त्यस बाहेक टोलीका अन्य कुनै खेलाडीले ९ रनभन्दा बढी रन बनाउन सकेनन् । भारतका लागि शबनम, तितास साधु, मन्नत कश्यप र पार्श्वी चोपडाले १–१ विकेट लिए ।
युएईले आफ्नो पहिलो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । आजको हारपछि टोली अंक तालिकाको दोस्रो स्थानमा छ । स्कटल्याण्ड तेस्रो र दक्षिण अफ्रिका अन्तिम स्थानमा छ ।
विश्वकपको समूह चरणमा भारतीय टोलीको अन्तिम खेल १८ जनवरीमा स्कटल्याण्डसँग हुनेछ । यससँगै युएईको अन्तिम खेल पनि १८ तारिखमा आयोजक दक्षिण अफ्रिकासँग हुनेछ । दुवै खेल बेनोनीस्थित विलोमूर पार्क स्टेडियममा साँझ ५ः१५ बजेदेखि हुनेछ ।

टिप्पणी लेख्नुहोस्