राखेपका वरिष्ठ अधिकृत थापाको राजिनामा
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ अधिकृत कुलबहादुर थापाले राजिनामा दिएका छन् । उनले घरायसी कारण जनाउदै बुधबार राखेपमा राजिनामाको निवेदन दिएका हुन् ।
थापाले राखेपमा सदस्य–सचिवको अनुपस्थितिमा निमित्त सदस्य–सचिवको कार्यभार सम्हालेका थिए । थापालाई गत फागुन ४ गते युवा तथा खेलकुद मन्त्रालयले कार्यकारी अधिकारसहित निमित्त सदस्य–सचिवको जिम्मेवारी दिएको थियो । त्यसबेला तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालको बर्खास्ती र नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङको नियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्धा विचाराधिन रहेको अवस्थामा थापाले निमित्त सदस्य–सचिवको जिम्मेवारी पाएका हुन् । त्यसअघि थापा राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख थिए ।
करिब २६ वर्षअघि (२०५२ साल भदौ ८ गते) थापा राखेपमा अधिकृत तृतीय श्रेणीमा राखेप सेवामा प्रवेश गरेका थिए । थापाले राखेप मातहतका प्रशासन विभाग, खेलकुद विकास विभाग र खेलकुद प्रतियोगिता तथा योजना विभागमा प्रमुख भई कार्य गरेका थिए । प्रचार प्रसार शाखा, कर्मचारी प्रशासन शाखालगायत विभिन्न शाखामा पनि प्रमुख भइ काम गरेको अनुभव थापासँग छ ।
समारोह विज्ञका रुपमा परिचित अधिकृत द्वितीय श्रेणीका थापाले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदको समारोह उपसमितिको महत्वपूर्ण जिम्मेवारीमा रहि काम गरेका छन् । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा थापाले समारोह निर्देशकको महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

टिप्पणी लेख्नुहोस्