राष्ट्रिय खुला तेक्वान्दो पुम्से भोलिदेखि
काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभाग, प्रदेश र जिल्लाका ७ सय ४३ खेलाडीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी गराए । प्रतियोगितामा विधिन्न १४ विधामा प्रतिस्पर्धा हुने छ ।
पुम्सेको मात्रै छुट्टै राष्ट्रियस्तरको प्रतियोगिता पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख रुपैयाँ खर्च हुने बताइएको छ । दुईदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा हुने छ । यसै प्रतियोगिताबाट खेलाडीको वरीयता पनि निर्धारण गरिने भएको छ ।

टिप्पणी लेख्नुहोस्