लेख विवरण

राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफी हेटौंडामा

राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफी हेटौंडामा

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को च्याम्पियन ट्रफी सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा प्रदर्शन गरिएको छ । ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्टको नेतृत्वमा सदस्यहरु दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टिमकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राईले नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफीलाई हेटौंडा पु¥याएको हो ।

ट्रफीको भदौ ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधामन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका थिए । त्यसपछि ट्रफीलाई सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा पु¥याइएको थियो । ट्रफीलाई मधेश प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एनआरएनएको मुख्यालयमा लगिने छ । ट्रफीलाई अन्तिममा राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा पु¥याइने छ ।

राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफि प्रर्दशनका अवसरमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा, खानेपानी उर्जा तथा सिंचाई मन्त्री बसन्तप्रसाद मान्नधर, श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल, वन तथा वातावरण मन्त्री विशाल खड्का, युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल, कृषी तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाई, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.