लेख विवरण

राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जान जोसे डी ब्रान्ट नेपालमा

राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जान जोसे डी ब्रान्ट नेपालमा

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जान जोसे डी ब्रान्ट बुधबार नेपाल आएका छन । नेपाल भलिबल संघले बेल्जियमका जानलाई हालै प्रशिक्षकमा नियुक्त गरेको थियो ।

नेपाली टोलीको प्रशिक्षण सम्हाल्न आएका जानलाई नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द, सङ्घका महासचिव रोशन श्रेष्ठलगायत सङ्घका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

सङ्घले जानलाई ६ महिनाको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । प्रशिक्षक जानले पुरुष र महिला दुवै टोलीलाई प्रशिक्षण दिने संघले जनाएको छ । जानलाई सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप र एसियन गेम्सलाई दृष्टिगत गरी प्रशिक्षक नियुक्त गरिएको हो ।

काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगिता आगामी जेठ ६ देखि १५ गतेसम्म आयोजना हुनेछ । यस्तै चीनमा आयोजना हुने एसियन गेम्समा नेपालको महिला र पुरुष भलिबल टोलीले सहभागिता जनाउनेछ ।

६४ वर्षीय प्रशिक्षक जान निकै अनुभवी प्रशिक्षक हुन् । ६४ वर्षीय जान बेल्जियमका पूर्व राष्ट्रिय खेलाडी हुन । उनले बेल्जियम र हङ्गेरीको राष्ट्रिय महिला टोलीको प्रशिक्षणसमेत सम्हालिसकेका छन । उनी अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआईभीभी) को सहयोगमा नेपाली टोलीसँग आबद्ध भएका हुन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.