रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध
काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोमाथी इङ्ल्यान्ड फुटबल संघ (एफए) ले करिब ७८ लाख जरिवाना सहित दुई खेलमा प्रतिबन्ध लगाएको छ ।
रोनाल्डोलाई गत अप्रिलमा प्रशंसकसँग दुर्व्यवहार गरेको कारण यो सजाय दिइएको हो । गत अप्रिलमा खेलमा पराजित भएर फर्कने क्रममा उनले एक फ्यानको फोन हातले हानेर खसालेका थिए । यसका लागि रोनाल्डोको निन्दा पनि गरिएको थियो ।
त्यसपछि रोनाल्डोले सामाजिक सञ्जालमा प्रशंसकसँग माफी मागेका थिए । तर पनि उनलाई कारबाही गरिएको छ । एफएले रोनाल्डोमाथी ५० हजार पाउण्ड अर्थात् करिब ७८ लाख रुपैयाँ जरिवाना लगाएको छ । यसबाहेक उनलाई दुई खेलमा प्रतिबन्ध पनि लगाइएको छ ।
रोनाल्डोले करिब २४ घण्टाअघि आफू र म्यानचेस्टर युनाइटेडले एकसाथ छुट्टिने निर्णय गरेको घोषणा गरेका थिए । बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा रोनाल्डोले क्लबविरुद्ध थुप्रै आरोपहरु लगाएका थिए जसका कारण क्लबका अधिकारीहरु उनीसँग रिसाएका थिए ।
रोनाल्डोसँग अहिले कुनैपनि क्लबमा आवद्ध छैनन र यस्तो अवस्थामा विश्वकपमा उनको प्रदर्शनले भविष्यमा कुन टिममा सामेल हुने भन्ने निर्णय गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

टिप्पणी लेख्नुहोस्