लेख विवरण

ललितपुर मेयर कप : एपीएफ र सुदूरपश्चिमको विजयी

ललितपुर मेयर कप : एपीएफ र सुदूरपश्चिमको विजयी

काठमाडौं । विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

त्रिवि मैदानमा बिहीबार भएको खेलमा एपएिफले मधेश प्रदेशलाई १० विकेटले हरायो । यसअघि उद्घाटन खेलमा सुदूरपश्चिमले आयोजक ललितपुर मेयर–११ लाई ५१ रनले हरायो ।

जितका लागि ५९ रनको लक्ष्य पछ्याएको एपीएफले ७.३ ओभरमा विना विकेटको क्षति लक्ष्य पूरा गरेको थियो । एपीएफका लागि कप्तान सीता रानामगरले अविजित ४५ र ज्योति पाण्डेले आठ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ मधेशल १९.४ ओभरमा सबै विकेटको क्षतिमा ५८ रन बनाएको थियो । मधेशका साना प्रविनले २५ रन बनाइन । अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । बलिङमा एपीएफकी सोनु खड्काले चार र सीता राना तीन विकेट लिए ।

यस्तै अर्को खेलमा जितका लागि सुदूरपश्चिमले दिएको एक सय ३८ रनको विजयी लक्ष्य पछ्याएको ललितपुर निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८६ रनमा समेटिएको थियो ।

ललितपुरका लागि लक्ष्मी चौधरीले २५ तथा हेलिसा गुरुङले १९ रन बनाए । बलिङमा सुदूरपश्चिमका लागि रितु कौनोजियाले दुई विकेट लिइन ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ३७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सम्झना खड्काले अविजित ५२ रन बनाइन ।

कविता जोशीले अविजित २७ र रवि पोदारले २८ रन बनाए । बलिङमा ललितपुरका कृतिका मरासिनीले दुई तथा सोनी पाख्रिनले एक विकेट लिए ।

प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको छ । जसमा सुदूरपश्चिम प्रदेश, कोसी प्रदेश, एपीएफ क्लब, मधेश प्रदेश र आयोजक ललितपुर मेयर–११ रहेका छन् । लिगको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । फाइनल खेल चैत १६ गते हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.