ललितपुर मेयर कप : कोशी प्रदेशले ललितपुर मेयर-११लाई ७ विकेटले हरायो
काठमाडौं । टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो खेलमै जित निकालेको छ । जित निकाल्ने क्रममा टोलीले ललितपुर मेयर-११लाई ७ विकेटले पराजित गर्यो । कोशी प्रदेशको जितमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी अप्सरी बेगमले अविजित २९ रनको पारी खेलिन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको ललितपुर १६ ओभर ५ बल खेल्दै ६५ रनमा अलआउट भयो । टोलीका लागि ओपनर लक्ष्मी चौधरी (२३) र मनिषा उपाध्यायले (१०) रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । ललितपुरलाई ६५ रनमै रोक्न कोशी प्रदेशकी निशा साहले ४ ओभरमा ११ रन खर्चदै सर्वाधिक ३ विकेट लिइन । उनी खेलको प्लेयर अफ द म्याच घोषित भइन् । अप्सरी बेगमले २ विकेट लिइन । शबनम राई र अलिशा खडीयाको नाममा समान एक एक विकेट रह्यो ।
ललितपुरले दिएको ६६ रनको लक्ष्य कोशी प्रदेशले १२ ओभरमा ३ विकेट गुमाउदै पुरा गर्यो । टोलीका लागि अप्सरी बेगमले ३२ बलमा २९ रन बनाउदै अविजित रहिन् । कप्तान रुबिना क्षेत्रीले १३ रन बनाइन् । स्मृती कटुवाल ९ रन बनाएर आउट भइन् । लकिता राजबंशी १ रनमा अविजित रहिन् । ललितपुरका लागि कप्तान अस्मिना कर्माचार्यले २ तथा कृतिका मरासैनीले १ विकेट लिए ।
प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको छ । जसमा सुदूरपश्चिम प्रदेश, कोसी प्रदेश, एपीएफ क्लब, मधेश प्रदेश र आयोजक ललितपुर मेयर–११ रहेका छन् । लिगको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । फाइनल खेल चैत १६ गते हुनेछ ।

टिप्पणी लेख्नुहोस्