लामा टेन्डी शेर्पा स्मृति बास्केटबल : प्रहरीको फाइनल भेट रोयलसँग
काठमाडौं । नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार फाइनलमा प्रवेश गरेको छ ।
राउन्ड रोविन लिगमा उपविजेता बन्दै फाइनल पुगेको प्रहरीले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसँग खेल्ने छ । अपराजित रहँदै रोयलले सोमबार फाइनलमा स्थान सुरक्षित गरेको थियो । पाँच टिम सहभागी महिलामा प्रहरी रोयलसँग मात्र पराजित भएको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रहरीले रुपन्देहीलाई ५०–३३ ले हरायो । प्रहरीकी अनुषा मल्लले १५ स्कोर गरिन् । रुपन्देहीकी दीपिका गुरुङले सर्वाधिक २२ अंक जोडे पनि टिमलाई जिताउन सकिनन् ।
पहिलो क्वाटरमा १७–९ को अग्रता बनाएको प्रहरीले दोश्रोमा ६–७ को झीनो अन्तरले पछि प¥यो । बाँकी दुई क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको प्रहरीले १५–८ र १२–८ को प्रदर्शन ग¥यो ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा टाइम्स र गोल्डेनगेटले सेमिफाइनल यात्रा तय गरे । टाइम्सले कास्कीलाई ११३–६१ ले हरायो । टाइम्सका मविन्द्र क्षेत्री र कास्कीका राजेन्द्र पुनले समान २० स्कोर गरे । टाइम्स चारै क्वाटरमा अघि रह्यो । टाइम्सले २६–१०, ३२–१३, २८–१७ र २७–२१ अंक जोड्यो ।
गोल्डेनगेटले ड्रिम टिमलाई १०२–७९ ले पाखा लगायो । गोल्डेनगेटका विक्रम डंगोलले २३ अंक बटुले । उता ड्रिम मिटका रविन बस्नेतले ३२ स्कोर गरेपनि जितका लागि पर्याप्त भएन ।
सुरुआतमा २०–१९ को साँघुरो अग्रता लिएको गोल्डेनगेट दोश्रोमा २६–२६ को बराबरीमा रोकियो । तेश्रोमा ३३–२२ र चौथोमा २३–१२ को अग्रता बनाउदै गोल्डेनगेटले जित सुनिश्चित गर्दै जित अन्तर पनि फराकिलो बनायो । सेमिफाइनलमा गोल्डेनगेटको भेट टाइम्ससंग हुने छ । अर्को सेमिफाइनल रोयल र नेपाल आर्मीबीच हुने छ ।

टिप्पणी लेख्नुहोस्