लामा टेन्डी स्मृति बास्केटबलको तयारी पूरा
काठमाडौं । नेपाल बास्केटबल संघका पूर्व अध्यक्ष स्व. लामा टेन्डी शेर्पाको सम्झनामा हुन लागेको लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ ।
नेपाल बास्केटबल संघको आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुषतर्फ १३ टिम सहभागी हुने भएका छन् । यसअघि १४ टिम सहभागी हुने भनिएकोमा बंगालादेशको नेभी टिम नआउने भएको आयोजकले जनाएको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ ।
महिलातर्फ भने पाँचै टिमको सहभागिता रहने छ । राउन्ड रविन लिगका आधारमा हुने स्पर्धामा शीर्ष २ स्थानमा रहने टिमले उपाधिका लागि पुनः प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो दिन पुरुषको २ र महिलाको १ गरी ३ खेल हुनेछ । उद्घाटन खेलमा पुरुषतर्फ बीएमके र कीर्तिपुर नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । अर्को खेल ड्रिम टिम र शंकरदेव क्याम्पसबीच हुनेछ । महिलामा ललितपुर हाइ र रोयल बास्केटबल एकेडेमीले खेल्ने छन् । फाइनल फागुन १२ गते हुनेछ ।

टिप्पणी लेख्नुहोस्