लेख विवरण

लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किए आर्चर

लामो समयपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किए आर्चर

काठमाडौँं । इंग्ल्याण्डका फास्ट बलर जोफ्रा आर्चर करिब एक वर्ष १० महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किने भएका छन् । उनी दक्षिण अफ्रिका भ्रमणका लागि इङ्ल्यान्डको १४ सदस्यीय टोलीमा छनोट भएका छन् । आर्चरले मार्च २०२१ मा भारतविरुद्ध अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए। चोटका कारण उनी लामो समय क्रिकेटबाट टाढा रहेका थिए ।

जोस बटलरको कप्तानीमा इंग्ल्यान्डको टोलीले जनवरी २७ देखि दक्षिण अफ्रिकासँग ३ ओडिआई खेल्नेछ । आर्चरको नाम सिरिजका १४ खेलाडीको सूचीमा छ । उनीसँगै ह्यारी ब्रुक, बेन डकेट, रीस टोपले जस्ता खेलाडीको नाम पनि छ । चोटग्रस्त लियाम लिभिङ्स्टनले टोलीमा स्थान बनाउन सकेनन् ।

जो रुटलाई बाहिर राख्दै डेभिड मलानलाई टोलीमा समावेश गरिएको छ । योसँगै टी–२० विश्वकप टोलीबाट बाहिर रहेका जेसन रोयलाई पनि टोलीमा छनोट गरिएको छ । शृङ्खला अघि आर्चरले दक्षिण अफ्रिकाको टी २० लिग (एसए २०) मा मीकेप टाउनबाट २ खेल खेल्नेछन्।

गत मार्चमा आर्चरलाई कुहिनोमा चोट लागेको थियो। चोटपछि उनको शल्यक्रिया गर्नुपरेको थियो । त्यसपछि उनले आफ्नो ढाडमा तनाव महसुस गर्न थाले। आर्चरलाई २ शल्यक्रियापछि पूर्णरुपमा निको हुन २१ महिना लागेको थियो ।

उनले इङ्ल्यान्डको पाकिस्तान भ्रमण अघि इङ्ल्यान्ड ए बाट ४ दिने खेल पनि खेलेका थिए। जसमा उनले केही ओभर बलिङ पनि गरे । उनको फिटनेस रिपोर्ट आएपछि उनी टोलीमा छनोट भएका हुन ।

आर्चर सन् २०१९ को विश्वकप टोलीमा पनि थिए। उनले प्रतियोगितामा इंग्ल्याण्डका लागि सर्वाधिक २० विकेट लिएका थिए। उनले इंग्ल्याण्डका लागि हालसम्म १७ एकदिवसीय खेलमा ३० विकेट लिएका छन् । यस क्रममा उनले ४.७४ को इकोनोमी रेटमा रन दिएका छन ।

दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय शृंखलाका लागि इंग्ल्याण्डको टोलीः

जोस बटलर (कप्तान), मोइन अली, जोफ्रा आर्चर, ह्यारी ब्रुक, साम करन, बेन डकेट, डेविड मलान, आदिल राशिद, जेसन रोय, फिल साल्ट, ओली स्टोन, रीस टोपले, डेभिड विली र क्रिस वोक्स।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.