लुम्बिनी अल स्टार नेपाल टी–२० लिगको प्लेअफमा
काठमाडौं । लुम्बिनी अल स्टार नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई १२ रनले हरायो । लुम्बिनीले दिएको एक सय २३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाएर एक सय १० रनमा समेटियो ।
विराटनगरका लागि अर्जुन साउदले सर्वाधिक ४१ रन बनाए । गौरान्शु शर्माले १२ र पृथु बास्कोटाले ११ रन बनाए । बलिङमा लुम्बिनीका श्याड्ली भान, तिलक भण्डारी र ह्यारी टेक्टरले दुई दुई विकेट लिए । किशोर महतो, कप्तान दीपेन्द्र सिंह ऐरी र हरमित सिंहले एक एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २२ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रन बनाए । कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाहले समान १३र१३ रन बनाए ।
बलिङमा विराटनगरका लागि विवेक यादव, सुर्य तामाङ र नन्दन यादवले दुई दुई विकेट लिए । कियोन जोसेफ र राज नाननले एक एक विकेट लिए । लिगमा सात खेल सकेको लुम्बिनी ६ जित निकाल्दै १० अङ्क सहित शीर्षस्थानमा छ ।
६ खेलबाट चार अङ्क बनाएको विराटनगर पाँचौँ स्थानमा छ । पुस २७ गतेसम्म चल्ने प्रतियोगितामा ६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको छ । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् ।

टिप्पणी लेख्नुहोस्