लेजेन्ड्स क्रिकेट लिग : भिलवारा किंग्स ५७ रनले विजयी
काठमाडौं । लेजेन्ड्स क्रिकेट लिग २०२२ को नवौं खेलमा इरफान पठानको कप्तानीमा रहेको भिलवारा किंग्स ५७ रनले विजयी भएको थियो । वीरेन्द्र सहवागको टोली गुजरातले टस जितेर पहिले ब्याटिङको निम्तो दिएको खेलमा पहिले खेल्दै भिलवाराले २० ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो । जवाफमा गुजरातको टोली १९.४ ओभरमा ११० रनमा समेटिएयो ।
पहिले ब्याटिङ गरेको इरफान पठानको टोलीलाई मोर्ने भान विक र विलियम पोर्टरफिल्डले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । भान विकले २८ बलमा ४ छक्का र ४ चौकाको मद्दतले ५० रन बनाए भने पोर्टरफिल्डले ३३ बलमा २ छक्का र १० चौकाको मद्दतले ६४ रन बनाए । कप्तान इरफान पठानले पनि ३४ र जैसल कारियाले ४३ रनको योगदान दिए । अर्कोतर्फ युसुफ पठानले ५ बलमा २ छक्का प्रहार गर्दै १४ रन बनाए भने राजेश बिश्नोईले पनि १२ रन बनाए ।
त्यसपछि २२३ रनको लक्ष्य पछ्याएको सहवागको नेतृत्वमा रहेको गुजरातको टोलीका ब्याट्सम्यानहरु भिलवाराका बलरसामु धेरै समय टिक्न सकेनन् । गुजरातका लागि केभिन ओब्रायनले दुई रन बनाए भने क्रिस गेलले २० बलमा दुई चौकाको मद्दतले १५ रन बनाए । योसँगै कप्तान वीरेन्द्र सहवागले २० बलमा एक छक्का र दुई चौकाको मद्दतले २७ रन बनाए । तल्लो क्रमका ब्याट्सम्यान यशपाल सिंहले उत्कृष्ट इनिङ खेल्दै २९ बलमा ३ छक्का र ६ चौकाको मद्दतले ५७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । भिलवाराका लागि एस श्रीसन्तले सर्वाधिक ३ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्