लेख विवरण

वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई

वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई

खोटाङ । सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको ‘जिल्लाव्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिता’को उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाले चुमेको छ । सोल्मास्थित आयोजक सोल्मा स्पोर्टस् क्लबको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा सोही नगरपालिकाको वडा नं ११ खार्मीलाई ट्राइब्रेकरमा हराउँदै नेर्पाले उपाधि चुमेको हो ।

निकै रोचक भएको खेलको निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल नभएपछि ‘ट्राइब्रेकर’मार्फत प्रतियोगिताको उपाधि छिनोफानो गरिएको आयोजकले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहका १८ वडाका खेलाडी सहभागी प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाले सेमिफाइनलिस्टमा चित्त बुझाएका छन् ।

प्रतियोगिताका विजयी टिम र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईलगायतले संयुक्तरूपमा पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र सेमिफाइनलमा पुग्ने दुईवटा टिमलाई क्रमशः रु एक लाख ११ हजार एक सय ११, रु ६६ हजार छ सय ६६ र रु ३३ हजार तीन सय ३३ नगदका साथमा ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको अनुशासित टिममा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा तथा बेष्ट प्लेयरमा नेर्पाका सुरज राई घोषित भएका छन् । अनुशासित टिम र बेष्ट प्लेयरलाई क्रमशः नगद रु पाँच हजार पाँच सय ५५ प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता अवधिभरका बेष्ट किपरमा खार्मीका निशान विश्वकर्मा, बेष्ट डिफेण्डरमा खार्मीकै ध्रुव विश्वकर्मा, बेष्ट मिड फिल्डरमा नेर्पाका पारश कार्की, हाइस्कोररमा नेर्पाकै विदेश राई, बेष्ट कोचमा नेर्पाका वीरेन गुरुङ र योङगेष्ट प्लेयरमा नेर्पाकै प्रज्वल गुरुङ घोषित भएका छन् । बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर, हाइस्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही नगद रु तीन हजार तीन सय ३३ प्रदान गरिएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.