लेख विवरण

विजडेन क्रिकेटर्स अफ द इयरको शीर्ष स्थानमा जो रुट चयन

विजडेन क्रिकेटर्स अफ द इयरको शीर्ष स्थानमा जो रुट चयन

काठमाडौं । भर्खरै इङल्यान्ड क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका ३१ वर्षीय अनुभवी ब्याट्सम्यान जो रुट विस्डेनको विजडेन क्रिकेटर्स अफ द इयरको प्रमुख खेलाडीका रूपमा चयन भएका छन् ।गत वर्ष उनले रातो बल क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५ टेस्टको २९ इनिङ्समा ६१.०० को औसतमा १ हजार ७ सय ८ रन बनाएका थिए। यस क्रममा उनले ६ शतक र चार अर्धशतक प्रहार गरेका थिए ।

रुट बाहेक इंग्ल्याण्डका २८ वर्षीय तिव्र गतिका बलर ओली रोबिन्सन, भारतीय बलर जसप्रित बुमराह, भारतका वर्तमान कप्तान रोहित शर्मा, अफ्रिकी महिला क्रिकेटर डेन भान निकेर्क र किवी स्टार ब्याट्सम्यान डेभोन कोनवे पनि पछिल्लो प्रदर्शनका आधारमा विजडेन क्रिकेटर्स अफ द इयरमा छनोट भएका छन् ।

रुट टेस्ट क्रिकेटमा सबैभन्दा धेरै खेलमा इंग्ल्याण्डका लागि नेतृत्व गर्ने पहिलो कप्तान हुन्। उनले रेड बल क्रिकेटमा ६४ खेलमा इंग्लिस टोलीको नेतृत्व गरेका छन् । यस अवधिमा टोलीले २७ खेलमा विजय पाएको छ भने २५ खेलमा हार ब्यहोरेको छ । यसबाहेक ११ खेल बराबरी भएका छन् ।

तर पछिल्लो समय रुट खराब फर्मबाट गुज्रिरहेका थिए । उनी ब्याटिङमा सफल साबित हुन सकेनन र उनको कप्तानी पनि निराशाजनक रहयो । पछिल्ला १७ खेलमा उनले एकमा मात्र जित हात पार्न सके । अन्तत उनले लगातार खस्कँदै गएको प्रदर्शनलाई ध्यानमा राख्दै कप्तान पद छाड्ने निर्णय गरे ।

वर्तमान भारतीय कप्तान रोहित शर्माले गत वर्ष इंग्ल्याण्ड भ्रमणको क्रममा चार टेस्ट खेलमा ५२ को औसतमा ३६८ रन बनाएका थिए ।

तिव्र गतिका भारतीय बलर जसप्रित बुमराहले गत वर्ष इंग्ल्याण्ड भ्रमणका क्रममा राम्रो प्रदर्शन गरेका थिए । उनले चार टेस्ट खेलमा २० को औसतमा १८ विकेट लिएका थिए।

न्यूजिल्याण्ड क्रिकेट टोलीका ३० वर्षीय ब्याट्सम्यान डेभोन कोनवेले इंग्ल्याण्ड भ्रमणका क्रममा आफ्नो पहिलो खेलमा दोहोरो शतक प्रहार गर्न सफल भएका थिए ।

गत वर्ष डेब्यु गरेका २८ वर्षीय इंग्ल्याण्डका तिव्र गतिका बलर ओली रोबिन्सनले आठ खेलको १५ इनिङ्समा २१.१६ को औसतमा ३७ विकेट हात पारेका थिए।

अफ्रिकी महिला अलराउन्डर खेलाडी ड्यान भान निकेर्कले महिला द हन्ड्रेडमा उत्कृष्ट प्रदर्शन गरेकी थिईन ।

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.