विश्वकपबाट टोली बाहिरिएपछि प्रशिक्षकले राजीनामा दिने लहर नै चल्यो
काठमाडौं । फिफा विश्वकपमा आफ्नो टोली समूह चरणमा पराजित भएपछि प्रशिक्षकले राजीनामा दिने लहर नै चलेको छ । कतारमा जारी विश्वकपको २२औँ संस्करणमा समूह चरणबाट टोली बाहिरिएपछि राजीनामा दिने प्रशिक्षक तीन जना पुगिसकेका छन ।
यसअघिका विश्वकपमा पनि प्रशिक्षकको राजीनामा र बर्खास्तीका घटना हुने गरेका थिए । कतार विश्वकपमा प्रशिक्षकबाट राजीनामा दिने पहिलो प्रशिक्षक मेक्सिकोका जेरार्डो मार्टिनो बने । समूह ‘सी’ बाट विश्वकपमा प्रतिस्पर्धा गरेको मेक्सिकोले समूहको अन्तिम खेलमा साउदी अरबलाई २–१ गोलले हराएपनि नकआउट चरणमा पुग्न सकेन ।
समूहमा अर्जेन्टिनासँग २–० गोलले पराजित भएको मेक्सिकोले पोल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । मेक्सिको अन्तिममा पोल्यान्डसँग गोल अन्तरकाआधारमा पछि पर्दै बाहिरिएको थियो । सन् १९९४ पछि पहिलो पटक विश्वकपको नकआउट चरण गुमाएपछि प्रशिक्षक मार्टिनोले नैतिक जिम्मेवारी लिँदै टोलीसँग आफ्नो सम्झौता समाप्त भएको घोषणा गरेका थिए ।
यसैगरी बेल्जियमको टोली समूहचरणबाट घर फर्कन बाध्य भएपछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि राजीनामा दिए । समूह ‘एफ’ अन्तर्गत जित्नै पर्ने अन्तिम खेलमा बेल्जियम क्रोएसियासँग गोलरहित बरबरीम रोकिएपछि फिफा वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियम बाहिरिएको थियो ।
लगत्तै प्रशिक्षक मार्टिनेजले राजीनामाको घोषणा गरेका थिए । समूहको पहिलो खेलमा क्यानडालाई १–० गोलले हराएको बेल्जियम दोस्रो खोलमा मोरोक्कोसँग २–० गोलले स्तब्ध भएको थियो । स्पेनका ४९ वर्षीय मार्टिनेज सन् २०१६ देखि बेल्जियमको प्रशिक्षक थिए ।
यस्तै विश्वकपको समूह चरणबाट टोली बाहिरिएपछि घानाका मुख्य प्रशिक्षक ओटो एडोले पनि आफ्नो पदबाट राजीनामा दिएका छन । समूह ‘एच’ अन्तर्गत शुक्रबार राति भएको अन्तिम खेलमा उरुग्वेसँग २–० गोलले पराजित भएपछि घाना समूह चरणबाटै बाहिरिएको थियो ।
समूहको पहिलो खेलमा पोर्चुगलसँग ३–२ गोलले पराजित भएको घानाले दोस्रो खेलमा दक्षिण कोरियालाई ३–२ गोलले नै पराजित गरेको थियो । घाना समूहको अन्तिममा रह्यो । विश्वकपका टोलीको यात्रा समूह चरणमै सकिएपछि ४७ वर्षीय एडोले राजीनामाको घोषणा गरेका हुन ।
घानाका पूर्व मिडफिल्डर समेत रहेका एडोले गत फेब्रुअरीदेखि टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

टिप्पणी लेख्नुहोस्