लेख विवरण

विश्वकप क्रिकेट छनोटमा नेपालले टस जितेर बलिङ गर्दै

विश्वकप क्रिकेट छनोटमा नेपालले टस जितेर बलिङ गर्दै

काठमाडौंँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेल्दैछ । उक्त खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा मध्याह्न पौने एक बजे खेल सुरु हुनेछ ।

नेपाल यसअघि पहिलो खेलमा घरेलु टोली जिम्बावेसित पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो । नेपालले दुई पटकको एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिजसित पहिलो पटक खेल्न लागेको हो । नेपालले समूह चरणको अन्तिम खेल नेदरल्यान्डसँग यही असार नौ गते खेल्नेछ ।

जारी छनोट प्रतियोगितामा १० टोली सहभागी छन् । समूह ‘ए’ मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्ट इन्डिज तथा समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, युनाइटेड अरब इमिरेटस् (युएई) र स्कटल्यान्ड रहेका छन् । दुवै समूहबाट शीर्ष तीन/तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा आयोजना हुने विश्वकप क्रिकेटका लागि स्थान बनाउने छन् ।

आजै अर्को खेलमा अमेरिका र नेदरल्यान्ड्स भिड्ने छन् । उक्त खेल पनि मध्याह्न पौने एक बजे सुरु हुने छ । नेदरल्यान्डले पहिलो खेलमा जिम्बावेसँग हार व्यहोरेको थियो । अमेरिका भने पहिलो खेलमा वेस्ट इन्डिज र दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, ललित राजबंशी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.