विश्वकप क्रिकेट लिग २ : नामिबियाले पपुवा न्यू गिनीलाई हरायो
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को १ सय ९ औं खेलमा नामिबियाले पपुवा न्यू गिनीलाई ८ विकेटले पराजित गरेको छ । नामिबियाको राजधानी विन्डहोकमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यू गिनीले ३८.५ ओभरमा अलआउट हुदै १ सय ७ रन बनायो । टोलीका लागि कप्तान असद वालाले सर्वाधिक ४४ रन बनाए । विकेटकिपर किप्लिन डोरिगा १६ रन बनाएर आउट भए । चाड सोपर र अले नाओले समान ११-११ रन बनाउदा अन्य खेलाडीहरुले दोहरा अंकमा रन बनाउन सकेनन् ।
बलिङमा नामिबियाका लागि जेजे स्मित, टान्गेनी लुन्गामेनी र बर्नार्ड शोल्ट्ज़ले समान २-२ विकेट लिए । रुबेन ट्रम्पलम्यान, गेर्हार्ड इरास्मस र जन निकोल लोफ्टी-इटनको नाममा एक एक विकेट रह्यो ।
पपुवा न्यू गिनीले दिएको १ सय ८ रनको लक्ष्य नामिबियाले १५.१ ओभरमा २ विकेट गुमाउदै पुरा गर्यो । टोलीका लागि ओपनर लो-हैन्ड्रे लौवरेन्सले १ छक्का र ६ चौंकाको मद्दतमा २४ बलमा ३४ रन बनाए । अर्का ओपनर दिभान ला ककले २५ रन बनाए । माइकल भान लिन्गन (२९) र कप्तान गेरहार्ड इरास्मस (१३) रनमा अविजित रहे । पपुवा न्यू गिनीका लागि बलिङमा चाड सोपर र चार्ल्स अमिनीले समान एक एक विकेट लिए । खेलको म्यान अफ द म्याच नामिबियाका टान्गेनी लुन्गामेनी भए ।
जितसँगै २ अंक जोड्न सफल भएको नामिबिया क्रिकेट विश्वकप लिग २ को अंक तालिकामा चौंथो स्थानमा उक्लिन सफल भएको छ । तालिकाको छैठौं स्थानमा रहेको नेपालले घरेलु टोली नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज अगामी डिसेम्बर १ देखि खेल्नेछ । सिरिज ८ डिसेम्बरसम्म संचालन हुनेछ। स्कटल्याण्डले १ डिसेम्बरमा नामिबियासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ।

टिप्पणी लेख्नुहोस्