विश्वकप छनोटमा नेपालसँगै रहेका यी टोलीका खेलाडीले बनाए २४ बलमा अर्धशतक
काठमाडौंँ । आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट खेलको समुह विभाजन भईसकेको छ ।
प्रतियोगितामा नेपाल आयोजक जिम्बाबेसंगै समुह ए मा परेको छ । नेपाल रहेको समुहमा जिम्बाबेसहित नेदरल्याण्डस, अमेरिका र वेस्टइण्डिज रहेका छन् ।
त्यही विश्वकप छनोटको तयारीका लागि जिम्बाबेले पाकिस्तान ए लाई आफ्नो घरेलु मैदानमा आमन्त्रण गरेर अनौपचारिक टेस्ट र एकदिवसीय सिरिज खेली रहेको छ । पाकिस्तान ए बिरुद्ध जिम्बाबेले पनि आफ्नो ए टोली नै मैदानमा उतारहेको छ । तर टोलीमा क्रेग इरविन र सीन विलियम्स जस्ता अन्तराष्ट्रिय खेलाडी पनि रहेका छन । पाकिस्तान ए को टोलीमा पनि साम अयुब, शाहनवाज दहनी र इमरान बट जस्ता अन्तराष्ट्रिय खेलाडीहरु रहेका छन ।
दुबै टोलीबीच भएको दुई खेलको अनौपचारिक टेस्ट सिरिज पाकिस्तान ए ले २–० ले जितेको छ । तर ६ खेलको अनौपचारिक एकदिवसीय शृंखलामा भने जिम्बाब्वे ए बलियो देखिएको छ । सिरिजको पहिलो खेल २४ रनले जितेको जिम्बाब्वे ए ले दोस्रो खेलमा पनि ८० रनको जित हात पारेको छ । वेलिङटन मसाकाद्जाको कप्तानीमा रहेको जिम्बाब्वे ए ले पहिलो इनिङ्समा २३६ रन बनाएको थियो । जवाफमा पाकिस्तान ए टोली १५६ रनमा अलआउट भयो।
टस जितेर ब्याटिङ गरेको जिम्बाब्वे ए को सुरुवात खराब रह्यो । ओपनर इनोसेन्ट किया २ रन बनाएर आउट भए । योसँगै तेस्रो नम्बरमा आएका मधेरेभले पनि खाता खोल्न सकेनन् । मध्यक्रमका रायन बर्लले ४७ र विकेटकिपर क्लाइभ मडान्डेले ४३ रन बनाए ।
जिम्बाब्वे ए ले १६९ रनको स्कोरमा ९ विकेट गुमाएको थियो । त्यसपछि ११ नम्बरमा ब्याटिङ गर्न आएका ब्लेसिङ मुजारबानीले २४ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै अविजित ५० रन बनाए । अर्का खेलाडी चताराले पनि १५ रन बनाए । यी दुईबीच १०औं विकेटका लागि ६७ रनको साझेदारी भयो। र जिम्बावे ए ले आफ्नो स्कोर बोर्डमा २३६ रन जोड्न सफल भयो । पाकिस्तानका लागि आमिर जमालले १० ओभरमा ७५ रन खर्चेर ५ विकेट । दहनीले दुई विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा पाकिस्तानलाई पहिलो बलमै झट्का लागेको थियो । पीएसएलका स्टार खेलाडी साइम अयुबले खाता खोल्न सकेनन् । इमरान बट र मोहम्मद हुरैराले दोस्रो विकेटका लागि ४४ रनको साझेदारी गरे । तर हुरैरा ३३ रनमा आउट भएपछि क्रिजमा आएका कामरान गुलामले पनि खाता खोल्न सकेनन । पाकिस्तानका कप्तान बटले ४५ रनको इनिङ खेले । तल्लो अर्डरमा मुबासिर खानले ४४ रन बनाए पनि उनी बाहेक अरु कुनै ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।
३८ औं ओभरमा पाकिस्तान ए को इनिङ्स १५६ रनमा सिमित भयो । ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका ब्लेसिङ मुजारबानीले बलिङमा पनि ४ विकेट लिए । जितसँगै जिम्बाब्वे ए ले ६ खेलको सिरिजमा २–० को अग्रता बनायो ।

टिप्पणी लेख्नुहोस्