विश्वकप छनोट प्लेअफ : अमेरिकाले नामिबियालाई हरायो
काठमाडौंँ । नामिबियामा आजबाट सुरु भएको एकदिवसीय विश्वकप छनोट प्लेअफमा अमेरिका विजयी भएको छ । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा अमेरिकाले घरेलु टोली नामिबियालाई ८० रनले पराजित गर्यो ।
विन्डहोक मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउदै २३१ रन बनायो । सय रन बनाउने क्रममा ५ विकेट गुमाइसकेको अमेरिकाका लागि तल्लो क्रमका खेलाडीहरुले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोर सम्म पुर्याए । टोलीका लागि गजानन्द सिंहले सर्वाधिक ५३ रन बनाए । अर्धसतक बनाउने क्रममा उनले ६३ बलमा ५ चौंका र १ छक्का प्रहार गरे । नोस्तुश केन्जीगे ४३ बलमा ४३ रन बनाए । एरोन जोन्स (३६), जेशी सिंह (३३), शुशान्त मोडानी (१७) र सौरभ नेत्राभल्करले अविजित १० रन बनाए ।
नामिबियाका लागि बलिङमा बेन शिकोङगो र शाउन फौचीले समान ३-३ विकेट लिए । रुबेन तुम्पेलमानले २ विकेट लिँदा पिके या फ्रान्सको नाममा एक विकेट रह्यो ।
अमेरिकाले दिएको २३२ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाको टोली ४१.४ ओभरमा १५१ रन बनाउदै अल आउट भयो । टोलीका लागि ओपनर शाउन फौचीले अर्धसतक बनाउने क्रममा सर्वाधिक ५५ रन बनाए । जान निकोल लोप्टी इयाटोन (३८), कप्तान ग्रेहर्ड इरासमुसले (२२) रन बनाउदा पिके या फ्रान्स (१४) रनमा अविजित रहे । अमेरिकाका लागि बलिङमा अलि खान र निसार्ग पटेलले सर्वाधिक समान ३-३ विकेट लिए । जेशी सिंहले २ विकेट लिँदा सौरभ नेत्राभल्कर र जगानन्द सिंहको नाममा एक एक विकेट रह्यो । खेलको प्लेयर अफ द म्याच गजानन्द सिंह भए ।
प्रतियोगिता अन्तर्गत भोलीको खेल पिएनजी र युएई तथा क्यानडा र जर्सीबीच हुनेछ । प्रतियोगितामा पहिलो र दोस्रो हुने टोलीले एकदिवसीय विश्वकपक छनोट खेल्नेछ ।

टिप्पणी लेख्नुहोस्