विश्वकप फुटबलको फाइनलका लागि ३० लाख टिकट माग
काठमाडौं । यस वर्ष कतारमा हुने विश्वकप फाइनलका लागि फुटबल निकाय संस्था (फिफा) समक्ष दर्शकहरुले ३० लाख टिकट माग गरेका छन । यसबाहेक समूह चरणको खेलका लागि पनि ठूलो सङ्ख्यामा टिकटको माग भइरहेको छ । एसोसिएटेड प्रेसले जारी गरेको तथ्यांकअनुसार नोभेम्बर २६ मा ८० हजार क्षमताको लुसेल स्टेडियममा हुने अर्जेन्टिना र मेक्सिकोबीचको खेलका लागि २५ लाख टिकट माग गरिएको छ ।
उक्त खेलको एक दिन अगाडि ६० हजार क्षमता रहेको अल बायात स्टेडियममा १४ लाख दर्शकहरुले इङ्ल्यान्ड र अमेरिकाको खेल हेर्न चाहेको तथ्यांकमा पाइएको छ । डिसेम्बर १८ मा दोहाको लुसेल स्टेडियममा हुने फाइनलका दिन त्याहाँको कुनै पनि होटल खाली नरहेको बताइएको छ ।
यस वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म चल्ने प्रतियोगिताको दोस्रो चरणको टिकट बिक्रीमा अमेरिका, इङ्ल्यान्ड र कतारबाट २० लाखभन्दा बढी अनुरोध आएको छ । टिकटको माग क्षमता बढी भएको खण्डमा गोलाप्रथाबाट तय गरिने जनाइएको छ ।
अन्तर्राष्ट्रिय फ्यानका लागि सन् २०१८ विश्वकप फाइनलको तुलनामा यसपटक ४६ प्रतिशतले मूल्य बढाइएको छ । प्रतियोगितामा सबैभन्दा महँगो टिकटको मुल्य १ हजार ६ सय ७ डलर राखिएको छ ।

टिप्पणी लेख्नुहोस्