विश्व नम्बर एक खेलाडी प्रिन्स दाहाल बन्जारा एग्रोको ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त
मोरङ । नेपालमा पहिलो पटक कृषि उत्पादनको प्रचारप्रसारका लागि खेलाडीलाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गर्ने प्रचलन सुरु भएको छ ।
विराटनगर–१२ स्थित बन्जारा एग्रोले निकट भविष्यमा उत्पादन गर्ने बोतल बन्द दूधको प्रचारप्रसारका लागि विश्व जुनियर ब्याडमिन्टनका एक नम्बरका नेपाली खेलाडी प्रिन्स दाहाललाई ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त गरेको छ ।
एग्रोका सञ्चालक सञ्जय चापागाईँ र दाहालबिच सम्झौता पत्र हस्ताक्षर गरी आदानप्रदान गरियो । गजेन्द्र शर्मा बन्जारा र चापागाईँद्वारा संयुक्त रुपमा स्थापित एग्रोले पहिलो चरणमा विराटनगरमा रु आठ करोडको लागतमा पाँच बिघा क्षेत्रफलमा हल स्टोन, जर्सी लगायतका उच्च दूध दिने ५० वटा गाई पालनबाट दैनिक एक हजार लिटर दूध उत्पादन गरिएको छ ।
त्यस अवसरमा सञ्चालक चापागाईँले कृषि क्षेत्रको प्रवर्द्धन र स्थानीय जनताको आर्थिक स्तर उकास्न यस क्षेत्रमा कृषि फर्मको स्थापना गरेको बताए । उनले ब्याडमिन्टन खेल पछाडि परेको र यसको विकासका साथै कृषि उत्पादनलाई फाइदा पुर्याउन ब्रान्डिङ गरेको जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्