लेख विवरण

वेष्ट इन्डिजलाई पराजित गर्दै भारत टी–२० वरीयताको पहिलो स्थानमा

वेष्ट इन्डिजलाई पराजित गर्दै भारत टी–२० वरीयताको पहिलो स्थानमा

काठमाडौं । टी–२० सिरिजको अन्तिम खेलमा भारतले वेष्ट इन्डिजलाई १७ रनले पराजित गरेको छ। जितसँगै भारतीय टोली आईसीसी टी–२० वरीयतामा पहिलो स्थानमा पुगेको छ । यसअघि भारतले ओडीआई सिरिजमा वेष्ट इन्डिजलाई ३–० ले पराजित गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा पाँच विकेटको गुमाएर १८४ रन बनायो । टोलीका लागि सूर्यकुमार यादवले सर्वाधिक ३१ बलमा ६५ रन बनाए । यादवले आफ्नो टी २० अन्तर्राष्ट्रिय करियरको चौथो अर्धसतक प्रहार गरे । अर्का खेलाडी वेंकटेश अय्यर १९ बलमा ३५ रन बनाउदै अविजित रहे । दुबै खेलाडीले पाँचौ विकेटका लागि ३७ बलमा ९१ रनको साझेदारी बनाए ।

कप्तान रोहित शर्मा आउट भएपछि वेंकटेश मैदान प्रवेश गर्दा भारतले १४ ओभरमा ४ विकेट गुमाएर ९३ बनाएको थियो । त्यसपछिको अन्तिम पाँच ओभरमा भारतले ८६ रन जोड्यो । टी २० आइको देथ ओभर (१६ देखि २० ओभर)मा भारतले बनाएको यो सबैभन्दा धेरै रन हो। यसअघि सन् २००७ मा डर्बानमा इंग्ल्यान्डविरुद्धको खेलमा भारतले अन्तिम पाँच ओभरमा ८० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि होल्डर, रोमारियो शेफर्ड, रोस्टन चेस, हेडन वाल्स र डोमिनिक ड्राक्सले एक–एक विकेट लिए ।

भारतका लागि १६ र १७ औं ओभरमा सूर्यकुमार र वेंकटेशले समान १७–१७ रन बनाए। १८,१९ र २० औं ओभरमा क्रमश: १०,२१ र २१ रन बनाए। सूर्य र वेंकटेशबाहेक भारतका लगि कुनै पनि ब्याट्सम्यानले बिशेष योगदान दिन सकेनन्। रितुराज गाइकवाडले ४, इशान किशनले ३१ बलमा ३४, श्रीयास अय्यरले २५ बलमा १६ रन बनाउदा कप्तान रोहित शर्मा सात बलमा १५ रन बनाएर आउट भए ।

१८५ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजको टोलीले २० ओभरमा नौ विकेट गुमाउदै १६७ रनमा अलआउट भयो । टोलीका लागि निकोलस पूरानले सर्वाधिक ४७ बलमा ६१ रन बनाए । यसबाहेक रोमारियो शेफर्डले २१ बलमा २९ रन बनाए । खराब सुरुवात गरेको वेस्ट इन्डिजका ओपनरहरु मायर्स र शाइ होपलाई दीपक चाहारले प्याभिलियन पठाए ।

वेस्ट इन्डिजका कुनै पनि ब्याट्सम्यानले टोलीका लागि महत्वपूर्ण योगदान दिन सकेनन । रोभमान पावेलले १४ बलमा २५, काइल मायर्सले ६ रन, शाई होपले आठ रन, कप्तान कियरोन पोलार्डले पाँच रन, जेसन होल्डरले दुई रन, रोस्टन चेसले १२ रन र डोमिनिक ड्राक्सले चार रन बनाए । फ्याबियन एलेन पाँच रन बनाउदै अविजित रहे ।

भारतका लागि दीपक चाहारले दुई विकेट लिए । हर्षलाल पटेलले सर्वाधिक तीन विकेट लिए । उनले रोभमान पावेल, रोमारियो शेफर्ड र रोस्टन चेसलाई आउट बनाए । बलिङमा वेंकटेश अय्यरले पनि राम्रो प्रदर्शन गरे । उनले किरोन पोलार्ड र जेसन होल्डरलाई पभेलियन पठाए। शार्दुल ठाकुरले पनि दुई विकेट लिए ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.