वेस्ट इन्डिजका प्रशिक्षक सिमन्सद्धारा आफ्नो पदबाट राजीनामा
काठमाडौं । वेस्ट इन्डिज टी–२० विश्वकप २०२२ को पहिलो चरणबाटै बाहिरिएपछि टोलीका प्रशिक्षक फिल सिमन्सले आफ्नो पदबाट राजीनामा दिएका छन् । सिमन्सले क्रिकेट वेस्ट इन्डिजको तर्फबाट जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘म स्वीकार गर्छु कि यस प्रकारको नतिजाले सिंङौ टोली सहित हामीले प्रतिनिधित्व गर्ने राष्ट्रहरूलाई पनि चोट पुर्याएको छ । यो निराशाजनक छ, हामीले सही समयमा राम्रो प्रदर्शन गर्न सकेनौं।'
वेस्ट इन्डिज टी–२० विश्वकपको पहिलो चरणबाटै समूहको सबैभन्दा तल्लो टोली भएका कारण प्रतियोगिताबाट बाहिरिएको थियो । आफ्नो दोस्रो खेलमा जिम्बाब्वेलाई हराए पनि पहिलो र तेस्रो खेलमा वेस्ट इन्डिज क्रमशः स्कटल्याण्ड र आयरल्याण्डसँग पराजित भएको थियो । 'हामीले राम्रो गर्न सकेनौं जसकारणअब हामी प्रतियोगिताबाट बाहिरिएका छौं,' सिमन्सले भने। 'मैले यो कल्पना पनि गर्न सकेको थिइनँ र यसका लागि म मेरा फ्यानहरूसँग माफी माग्न चाहन्छु। अस्ट्रेलियाविरुद्धको टेष्ट सिरिजपछि मैलै वेस्ट इन्डिजको प्रशिक्षक पदबाट राजीनामा दिनेछु।'
सिमन्स सन् २०१९ को अक्टोबरमा वेस्ट इन्डिज क्रिकेटका मुख्य प्रशिक्षक बनेका थिए । यसअघि उनले सन् २०१६ मा वेस्ट इन्डिजलाई टी–२० विश्वकप जिताएका थिए । उनको दोस्रो कार्यकालमा वेस्ट इन्डिज टोलीले टेस्ट क्रिकेटमा राम्रो प्रदर्शन गरेपनि टी २० मा बिर्सन लायक रह्यो । सन् २०२१ को टी–२० विश्वकपमा टोलीले ५ मध्ये ४ खेलमा हार बेहोरेको थियो भने गत हप्ता ३ मध्ये २ खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको थियो । सिमन्सले पद त्याग्नुअघि टी–२० विश्वकपमा भएका गल्तीहरुको समीक्षा गर्नको लागि समीक्षा बैठकमा सहभागी हुने बताएका छन् ।

टिप्पणी लेख्नुहोस्