वेस्ट इन्डिजको नयाँ कप्तानमा निकोलस पूरन नियुक्त
काठमाडौं । वेस्ट इन्डिज क्रिकेट बोर्डले मंगलबार निकोलस पूरनलाई नयाँ कप्तानको रुपमा नियुक्त गरेको छ । उनलाई एकदिवसीय र टी–२० टोलीको कप्तान नियुक्त गरेको जनाइएको छ । पूर्व कप्तान किरण पोलार्डले क्रिकेटबाट सन्यास लिने घोषणा गरेपछि वेस्ट इन्डिज क्रिकेट बोर्डले यो निर्णय लिएको हो । पूरनलाई सन् २०२२ मा हुने टि २० पुरुष विश्वकप र २०२३ मा हुने एकदिवसीय विश्वकपको लागि कप्तान चयन गरेको बोर्डले जनाएको छ । बोर्डले शाइ होपलाई एकदिवसीय टोलीको उपकप्तानको जिम्मेवारी दिइएको जनाएको छ ।
वेस्ट इन्डिज क्रिकेट बोर्डका निर्देशक जिमी एडम्सले भने, 'हामीलाई विश्वास छ निकोलसले आफ्नो अनुभव, प्रदर्शन र खेलमा पाएको सम्मानलाई ध्यानमा राख्दै सीमित ओभरको क्रिकेट टोलीको नेतृत्व गर्ने चुनौतीको सामना गर्न सक्षम छन्। छनोट समितीले किरोन पोलार्डको अनुपस्थितिमा निकोल्स परिपक्व भएको विश्वास गरेको छ, एक खेलाडीको हैसियतमा उनले टोलीमा यो जिम्मेवारी पूरा गरेका छन् । विश्वभरका विभिन्न फ्रेन्चाइज लिगमा खेलेको अनुभव पनि उनलाई टी–२० मा कप्तानी दिनुको एउटा कारण रहेको छ ।'
किरोन पोलार्डको अनुपस्थितिमा पूरनले सन् २०२१ मा अष्ट्रेलियाविरुद्धको शृंखलामा वेस्ट इन्डिजको कप्तानीको जिम्मेवारी सम्हालि सकेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा पूरनको नाममा एक शतकसहित आठ अर्धशतक छ । यसबाहेक उनले टी–२० अन्तर्राष्ट्रिय खेलमा ८ अर्धशतक पनि बनाएका छन् । उनी पहिलो पटक २०१९ मा चर्चामा आएका थिए जब उनले २०१४ अन्डर(१९ विश्वकपमा वेस्ट इन्डिज टोलीको नेतृत्व गर्दा ६ खेलमा ३०३ रन बनाएका थिए।
पूरनले खुसी व्यक्त गर्दै भने, 'वेस्ट इन्डिज टोलीको कप्तान नियुक्त हुन पाउँदा म साँच्चै खुशी छु। म खेलका धेरैजसो दिग्गजहरूको पाइला पछ्याउँदैछु जसले वेस्ट इन्डिज क्रिकेटको लागि योगदान दिएका छन । यो वास्तवमै मेरो लागि ठूलो जिम्मेवारी हो । कप्तान हुनु वास्तवमै मेरो करियरको ठुलो सफलता हो, म मेरा फ्यान र समर्थकहरूको लागि मैदानमा टोलीलाई अगाडि बढाउन तत्पर छु।'
उनको कप्तानीमा टोलीले पहिलो पटक नेदरल्याण्डसँग खेल्नेछ । विश्व सुपर लिग अन्तर्गत खेलिने यो खेल मे ३१ बाट सुरु हुनेछ ।

टिप्पणी लेख्नुहोस्