वेस्ट इन्डिजलाई दोस्रो टेस्टमा पनि हराउदै अष्ट्रेलियाद्धारा सिरिजमा क्लिन स्वीप
काठमाडौं । एडिलेडमा सम्पन्न डे–नाइट टेस्टमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ४१९ रनले पराजित गरेको छ । वेस्ट इन्डिज विरुद्ध रनको हिसाबले अस्ट्रेलियाको यो सबैभन्दा ठूलो जित हो । जितका लागि ४९७ रनको लक्ष्य पछ्याएको क्यारेबियन टोली मात्र ७७ रनमा सिमित भयो ।
पहिलो इनिङ्समा ५११र७ रन बनाएर पारी घोषणा गरेको अष्ट्रेलियाका लागि मर्निङ लाबुसेनले १६३ र हेडले १७५ रन बनाए । जवाफमा वेस्ट इन्डिजको ब्याटिङ निकै निराशाजनक रह्यो । टोली पहिलो इनिङ्समा २१४ रन बनाएर अलआउट भयो । वेस्ट इन्डिजका लागि ट्याग्नारिन चन्द्रपलले सर्वाधिक ४७ रनको योगदान दिए । अष्ट्रेलियाका लागि नाथन लियोनले सर्वाधिक ३ विकेट लिए ।
पहिलो इनिङ्समा अग्रता लिएको अस्ट्रेलियाले दोस्रो इनिङ्समा तीव्र गतिमा ब्याटिङ गर्दै ३१ ओभरमा मात्र १९९ रन बनाएर इनिङ्स घोषणा गरेको थियो । यसरी वेस्ट इन्डिजलाई खेल जित्न ४९७ रनको आवश्यकता थियो । तर वेस्ट इन्डिजको टोली कंगारुको बलिङ अगाडि टिक्न सकेन र मात्र ७७ रनमा अलआउट भयो । दोस्रो इनिङ्समा पनि वेस्ट इन्डिजका लागि चन्द्रपलले सर्वाधिक १७ रन बनाए ।
पहिलो इनिङ्समा १७५ रन बनाएका ट्राभिस हेड खेलको म्यान अफ द म्याच घोषित भए । अस्ट्रेलियाले दुई खेलको सिरिज २–० ले जितेको छ ।

टिप्पणी लेख्नुहोस्