लेख विवरण

श्रीलंकाले पनि नेपालसँगै विश्वकप छनोट खेल्नुपर्ने

श्रीलंकाले पनि नेपालसँगै विश्वकप छनोट खेल्नुपर्ने

काठमाडौंँ । ह्यामिल्टनमा भएको तेस्रो एकदिवसीय खेलमा न्युजिल्यान्डसँग पराजित भएपछि श्रीलंका आईसीसी क्रिकेट विश्वकप सुपर लिग तालिकाको आठौं स्थानमा पुग्न असफल भएको छ । यो सँगै श्रीलंकाले अब एकदिवसीय क्रिकेट विश्पकपमा स्थान बनाउन नेपाल, ओमान, स्कटल्यान्ड लगायत अन्य ६ टोलीसँग विश्कप छनोट खेल्नु पर्नेछ ।

न्युजिल्यान्ड बिरुद्धको महत्वपूर्ण खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४१.३ ओभरमा अलआउट हुँदै १ सय ५७ रन बनायो । टोलीका लागि ओपनर पथुम निसानकाले सर्वाधिक ५७ रन बनाए । कप्तान दासुन शानक (३१), चमिका करुणारत्ने (२४), र धनञ्जय डी सिल्भा (१३) रन बनाएर आउट भए । त्यसबाहेक श्रीलंकाका अन्य खेलाडीहरुले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । न्युजिल्यान्डका लागि म्याट हेनरी, हेनरी शिपले र डेरिल मिचेलले समान ३–३ विकेट लिए ।

श्रीलंकाले दिएको १ सय ५८ रनको लक्ष्य न्युजिल्यान्डले ३२.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । टोलीका लागि विल यंगले ८६ रनको अविजित पारी खेले । हेनरी निकोल्स पनि ४४ रनमा अविजित रहे । श्रीलंकाका लागि लाहिरु कुमारले २ तथा कसुन रजिता र दासुन शनाकाले समान १–१ विकेट लिए ।

जितसँगै न्युजिल्यान्डले तीन खेलको एकदिवसीय शृङ्खला २–० ले जित्यो ।

हारसँगै श्रीलंका वेस्ट इन्डिज (८८ अंक) लाई उछिन्दै अन्तिम छनोटमा पुग्न सकेन। श्रीलंकाले आईसीसी क्रिकेट विश्पकप सुपर लिग ८१ अंकका साथ समाप्त गर्यो। टोलीले अब आईसीसी क्रिकेट विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न जुनमा जिम्बाब्वेको यात्रा गर्नेछ ।

न्युजिल्याण्ड १७५ अंक जोड्दै आईसीसी क्रिकेट विश्पकप सुपर लिगको शीर्ष स्थानमा रह्यो।

वेस्ट इन्डिजको अझै आईसीसी क्रिकेट विश्पकप सुपर लिगको आठौं स्थान रहने सम्भावना जिवितै छ । लिगको तालिकामा दक्षिण अफ्रिका (७८ अंक) सहित १०औं र आयरल्यान्ड (६८ अंक सहित ११औं स्थानमा रहेको छ । दक्षिण अफ्रिकाले आजबाट नेदरल्याण्डसँग दुई खेलको एकदिवसीय शृंखला खेल्नेछ भने आयरल्याण्डले मे महिनामा बंगलादेशसँग तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ।

आईसीसी क्रिकेट विश्पकप सुपर लिगको अंक तालिकामा आठौं स्थानसम्म रहने टोली यस बर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ भने, ९औं स्थान देखी १३औं स्थान सम्म रहने टोलीले नेपाल, ओमान, स्कटल्यान्ड लगायतका टोलीसँग विश्वकप छनोट खेल्नेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.