लेख विवरण

सचिन तेन्दुलकरका छोरा अर्जुनले रणजी ट्रफीको डेब्युमै बनाए शतक

सचिन तेन्दुलकरका छोरा अर्जुनले रणजी ट्रफीको डेब्युमै बनाए शतक

काठमाडौं । सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले इतिहास रचेका छन् । उनले गोवाका लागि रणजी ट्रफीको डेब्युमै शतक प्रहार गरेका छन । सातौं नम्बरमा ब्याटिङ गर्न आएका अर्जुन १२० रन बनाएर आउट भए । अर्जुनले आफ्नो बुबा सचिन तेन्दुलकरको जस्तै चमत्कार गरेका छन । सचिनले सन् १९८८ मा रणजी डेब्यु खेलमा शतक बनाएका थिए । त्यसको ३४ वर्षपछि अर्जुनले पनि यो उपलब्धि प्राप्त गरेका छन् । २३ वर्षीय अर्जुनले मुम्बईबाट रणजी खेल्ने मौका नपाएपछि गोवाबाट खेल्ने निर्णय गरेका थिए ।

गोवा र राजस्थानबीचको खेलमा राजस्थानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । गोवाले सुरुमै सुमिरन अमोनकरको विकेट गुमाएको थियो ।उनलाई कमलेश नागरकोटीले आउट गरेका थिए । अर्का ओपनर अमोघ सुनिल देसाई पनि २७ रन बनाएर आउट भए । उनलाई अराफात खानले आउट गरेका थिए । ५९ रनमा दुई विकेट खसेपछि सुयश प्रभुदेसाई र स्नेहल सुहास कौटङ्करले गोवाको इनिङ्स सम्हालेका थिए ।

सुयश र स्नेहलले तेस्रो विकेटका लागि १०५ रनको साझेदारी बनाएका थिए । स्नेहल १०४ बलमा ५९ रन बनाएर आउट भएका थिए । सिद्धेश लाड ४८ बलमा १७ रन र विकेटकिपर एकनाथ केरकर १५ बलमा तीन रन बनाएर प्याभिलियन फर्किएका थिए । सुयश प्रभुदेसाईले २०९ बलमा ८१ र अर्जुन तेन्दुलकरले १३ बलमा चार रन बनाउदा पहिलो दिनको खेल सकिएको थियो । त्यसपछि आज (दोस्रो दिनको खेलमा) दुवैले सावधानीपूर्वक ब्याटिङ गर्दै शतक प्रहार गरे । दोस्रो दिनको खेल समाप्त हुँदा गोवाले आठ विकेट गुमाएर ४९३ रन बनाएको छ । अर्जुन २०७ बलमा १६ चौका र दुई छक्का प्रहार गर्दै १२० रन बनाएर आउट भए । उनले सुयशसँग छैटौं विकेटका लागि २२१ रनको साझेदारी गरे। सुयशले दोहोरो शतक प्रहार गर्दै ४१६ बलमा २९ चौकाको मद्दतले २१२ रन बनाए ।

आईपीएलमा अर्जुन मुम्बई इन्डियन्स टोलीका सदस्य हुन्। उनी बायाँ हाते फास्ट बलर पनि हुन् । उनको प्रदर्शनपछि मुम्बईको टोलीले उनलाई मौका दिने सम्भावना बढेको छ । अर्जुनले आइपिएलमा डेब्यु गर्न सकेका छैनन । उनले हालसम्म ९ टी–२० खेलमा १२ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन १० रनमा ४ विकेट रहेको छ । लिस्ट ए क्रिकेटमा उनले ७ खेलमा ८ विकेट लिएका छन् । ३२ रनमा २ विकेट लिस्ट ए मा उनको उत्कृष्ट प्रदर्शन हो ।

सचिनले सन् १९८८ डिसेम्बरमा मुम्बईका लागि १५ वर्षको उमेरमा गुजरातविरुद्ध रणजी डेब्यू गरेका थिए। जहाँ उनले १०० रनको अविजित इनिङ खेलेका थिए ।योसँगै सचिन प्रथम श्रेणी क्रिकेटमा भारतबाट शतक प्रहार गर्ने सबैभन्दा कान्छा ब्याट्सम्यान बनेका थिए । त्यसपछि सचिनले दुलीप ट्रफी र इरानी ट्रफीमा पनि आफ्नो डेब्यू खेलमै शतक बनाएका थिए।

अर्जुनको यो उपलब्धि त्यति सहज थिएन किनभने राजस्थान टोली दुई पटकको रणजी च्याम्पियन हो। टोलीमा अनिकेत चौधरी, कमलेश नगरकोटी र महिपाल लोमर जस्ता स्टार बलरहरु छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.