लेख विवरण

सन्दीप थप ५ दिन हिरासतमा

सन्दीप थप ५ दिन हिरासतमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । अदालतले असोज २० गतेबाट गणना हुने गरी सात दिनका लागि म्याद थप गरेको समय सकिएपछि पुनः थप पाँच दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको हो ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत सोमवार अदालतमा उपस्थित गराएको थियो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको थियो ।

अधिवक्ता सरोज घिमिरेले अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप सात दिनको समय माग गरे पनि अदालतले आज (बिहीबार) थप पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको बताए ।

अधिवक्ता घिमिरेले अदालतले बयान लिने क्रम आधा सकिसकेको भन्दै असोज ३१ गतेसम्म अनुसन्धान सक्नेमा विश्वस्त रहेको बताए । उनले यो मुद्दा एक व्यक्तिसँग मात्र नभइ संस्थासँग पनि सम्बन्धित रहेकाले फास्ट ट्रयाकमा सक्नको लागि तीन दिनको म्याद थप्न आग्रह गरे पनि अदालतले पाँच दिनको म्याद थपि अनुसन्धानका लागि समय दिएको जानकारी दिए ।

उनले भने, ‘‘अनुसन्धान गर्न ७ दिनको म्याद माग्नुभएको थियो । पक्राउ परेको दिनबाट ७ दिन गइसकेको छ, बयान लिने क्रम पनि आधा सकिसकेको छ । ७ दिन धेरै लामो हुन्छ, यो एउटा व्यक्तिसँग मात्र नभइ संस्थासँग सम्बन्धित मुद्दा छ, यस्तो मुद्दालाई अलि फास्टट्रयाकमा गम्भीरताका साथ लिएर काम सक्नुपर्ने भन्यौँ ।’’

सन्दीपमाथि थप पाँच दिनको म्याद थपि अनुसन्धान गर्न सूर्यबहादुर थापाको बेन्चले समय दिएको र आगामी कात्तिक १ गते पुनः फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्नसक्ने बताए ।

‘‘अनुसन्धानमा लामो समय लिनु भनेको प्रहरीका लागि पनि नराम्रो कुरा हो । हामीले तीन दिनको माग गरेका थियौँ । सूर्यबहादुर थापाको बेन्चले पाँच दिनको समय थपेको छ । कात्तिक १ गते फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न सकिन्छ ।’’

अधिवक्ताले पीडित भनिएकी किशोरीको दुई वटा जन्मदर्ता भएको विषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताउँदै भने, ‘‘हामीले दुई वटा जन्मदर्ता भएको भन्ने बारेमा अध्ययन गरिरहेका छौँ, हामीले बोल्न मिल्दैन ।’’

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.