लेख विवरण

सन्दीप आईपीएलमा बिकेनन

सन्दीप आईपीएलमा बिकेनन

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को अक्सनमा बिकेनन । यस सिजनको मेगा अक्सनमा लेग स्पिनर सन्दीपलाई कुनै पनि टोलीको बोली नलागेको हो । उनीमाथि लगातार दोस्रो सिजन कुनै पनि टोलीले बोली लगाएनन् ।

सन्दीपले यसपटक अक्सनमा आफ्नो मूल्य भारु ४० लाख राखेका थिए । अक्सनको पहिलो दिन शनिबार ‘अनसोल्ड’ भएका सन्दीपलाई दोस्रो तथा अन्तिम दिन आइतबार साँझसम्म कुनै न कुनै टोलीले अनुबन्ध गर्ने झिनो आशा थियो । तर बैंगलोरमा भएको अक्सनको दोस्रो दिन पनि सन्दीपमाथि कुनै टोलीले चासो देखाएनन् । अन्तिम राउन्डमा हरेक टोलीले आफूलाई चाहेको खेलाडी रोज्ने प्रावधान रहे पनि सन्दीपको भाग्य खुलेन ।

आईपीएलमा यसपदक दुई टोली थप गरिएकोले पनि सन्दीप पर्ने आँकलन गरिएको थियो । तर आईपीएलले स्पिनरभन्दा अलराउन्डर र भारतीय युवा खेलाडीलाई बढी प्राथमितामा राख्नु तथा अघिल्लो संस्करणमा समेत सन्दीप ‘अनसोल्ड’ हुनुलाई यसपटक उनी नपर्नुको कारण मानिएको छ ।

सन्दीपलाई यसअघि सन् २०१८ मा तत्कालीन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले अक्सनबाट न्यूनतम २० लाख भारुमा किनेको थियो । सन् २०२० सम्म दिल्लीमा रहेका सन्दीपले नौ खेल खेल्दै १३ विकेट लिएका थिए । गतवर्ष सन्दीपलाई दिल्लीले फुकुवा गरेपछि उनी खुला अक्सनमा गएका थिए । उनी अक्सनमा रहने एक्लो नेपाली क्रिकेटर थिए । यस सिजनको आईपीएल अक्सनका लागि नेपालबाट सन्दीपसहित १५ खेलाडीले नाम लेखाएका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.