सप्तरी प्रिमियर लिग : बलान बिहुल र बजाज खडक वारियर्स विजयी
राजविराज । सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको पाँचौ सिजन अन्तर्गत दोश्रो दिनको खेलमा बलान बिहुल सुपर किंग्स र बजाज खडक वारियर्सले विजयी सुरुवात गरेका छन्।
पब्लिक विन्देश्वरी स्कुल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बलान बिहुल सुपर किंग्सले विजयी सुरुवात गर्ने क्रममा रुपनी राइडर्सलाई ८ विकेटले पराजित गर्यो। रुपनीले दिएको १२८ रनको लक्ष्य बलान बिहुलले १६.३ ओभरमा २ विकेट मात्र गुमाएर भेटायो।
बलान बिहुलको ब्याटिंगमा ओपनर हसिम अन्सारीले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ३१ बलमा १ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर बिशाल यादवले ३६ रन बनाउदा कप्तान पवन सर्राफले अविजित ३० तथा बसिर अहमदले अविजित १६ रन बनाए। पवन र बसिरले तेश्रो विकेटको लागि अविजित ४१ रनको साझेदारी गरे।
खराब आउटफिल्डका कारण ढिला सुरु भएपछि १७ ओभरमा छोट्याएर खेलाइएको खेलमा टस जितेर ब्याटिंग गर्दै रुपनी राइडर्सले ८ विकेट गुमाएर १२७ रन बनायो। उसको लागि अरनिको यादवले सर्वाधिक ४२ रन तथा भोला शाहले ३० रन योगदान दिए। बलान बिहुलको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित बसिर अहमद र रुपेश सिंहले ३–३ तथा सर्वन यादव र रोबिन सिंहले १–१ विकेट लिए।
दिनको दोश्रो खेलमा बजाज खडक वारियर्सले छिन्नमस्ता लायन्सलाई ३ विकेटले पराजित गर्यो। छिन्नमस्ताले दिएको १२४ रनको लक्ष्य खडक वारियर्सले ७ विकेट गुमाएर १६.५ ओभरमा भेटायो।
खडक वारियर्सको लागि सन्दिप रजालीले सर्वाधिक ४० रन बनाए जुन क्रममा उनले मात्र १८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। कप्तान बिबेक यादवले २३, साहिल पटेल र विशाल सुश्लिंगले समान १६ रन बनाए।
छिन्नमस्ताका बलर कमल खत्री र नितेश यादवले २–२ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १२३ रन बनायो। उसको लागि ओपनर इमरान शेखले सर्वाधिक ३६ रन, हिमांशु दत्ताले १८ रन तथा कप्तान शरद भेसावकरले १० रन योगदान दिए। खडक वारियर्सका फास्ट बलर दिनेश अधिकारी एक्लैले ५ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए। अधिकारी प्लेयर अफ द म्याच घोषित भए। अनिल खरेल र अनिल यादवले १–१ विकेट लिए।
प्रतियोगिता अन्तर्गत तेश्रो दिन मंगलबार पनि दुई वटा खेल हुनेछन्। दिनको पहिलो खेलमा विहान ९ बजे छिन्नमस्ता लायन्स र राजविराज द किंग तथा दिउँसो १ बजे दोश्रो खेलमा कन्चनरुप राइनोज र बलान बिहुल सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन्।
सप्तरी प्रिमियर लिगको आयोजनामा जारि प्रतियोगितामा सप्तरीका ६ वटा फ़्रेन्चाइज् टोलीको सहभागिता रहेको छ।

टिप्पणी लेख्नुहोस्