लेख विवरण

सरकार खेलाडीको जीवन सुरक्षित बनाउने योजनामा छ : मन्त्री लिम्बू

सरकार खेलाडीको जीवन सुरक्षित बनाउने योजनामा छ : मन्त्री लिम्बू

बनियानी । युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले खेलाडीको जीवन सुरक्षित गर्ने योजनामा सरकार रहेको बताएका छन् ।

झापाको भद्रपुरस्थित मेची रङ्गशाला परिसरमा आज आयोजित स्वागत तथा कार्यक्रममा उनले खेलाडीको जीवन सुरक्षित गर्न सरकार खेलाडीको जीवन बीमा गर्ने योजनामा रहेको बताए । “खेलको माध्यमबाट विश्व जित्न सकिन्छ”, उनले भने, “खेलाडीले मुलुकलाई विश्वमा चिनाउन महत्त्वपूर्ण योगदान गरिरहनुभएको छ, खेलाडीको जीवन परिमार्जन गर्ने योजनामा सरकार छ, खेलाडीको जीवन बीमा गर्ने नीति निर्माणको तयार गरिरहेका छौँ ।”

मन्त्री लिम्बूले खेलाडीलाई कडा मेहनत गर्न र उच्च प्रतिफल निकाल्न अनुरोधसमेत गरे । खेलकुद क्षेत्रको विकासमा केही गर्ने सोचका साथ आफू लागि परेको बताउँदै उनले सीमित स्रोत र साधनका कारण सोचेजस्तो काम गर्न नसकिएको उल्लेख गरे । उनले मन्त्रालयबाट हुने र सकेसम्म काम गर्ने प्रतिबद्धता जनाए ।

मेची रङ्गशालाका लागि चालु आव रु २० लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए । राजनीतिक अस्थिरताका कारण देश विकास हुन नसकेको बताउँदै मन्त्री लिम्बूले खेलकुद, धार्मिक, सामाजिक क्षेत्रमा राजनीति गर्न नहुने धारणा राखे ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिले मन्त्री लिम्बूलाई सम्मानपत्र प्रदान गरेको थियो । तेह्रौँ राष्ट्रपति रनिङ शिल्डमा झापाबाट पदक विजेता खेलाडी र झापामा खेलकुदको गतिविधिलाई चलायमान बनाउन योगदान पु¥याउने स्थानीय तह र संस्थालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा एथलेटिक्स (ट्रिपल जम्प) मा स्वर्ण पदक विजेता खेलाडी राजिव ढुङ्गाना, कबड्डी पुरुषतर्फ रजत पदक विजेता अमन ताजपुरिया, आदर्श सहनी, करातेमा कास्य पदक विजता पुस्चल रामडाम, कबड्डी महिलातर्फ कास्य पदक विजेता मनमाया तामाङ, राधिका कुमाल, सचिना मावो र करातेतर्फ कास्य पदक विजेता समीर मगरलाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

जिल्लामा खेलकुद गतिविधिलाई चलायमान बनाउन योगदान गरेको भन्दै भद्रपुर नगरपालिका, कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका, भद्रपुर झापा गोल्डकप, झापा गोल्डकप, सहारा नेपाल साकोस र कनकाई नगर खेलकुद विकास समितिलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

मन्त्री लिम्बू, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी (भेषराज), झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललगायतले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, नेपाल बक्सिङ सङ्घ कोशी प्रदेश अध्यक्ष भोजराज सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.