लेख विवरण

सर्जियो बुस्केट्सले बार्सिलोना छाड्ने, साउदी लिग खेल्ने सम्भावना

सर्जियो बुस्केट्सले बार्सिलोना छाड्ने, साउदी लिग खेल्ने सम्भावना

काठमाडौंँ । बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केट्सले यस वर्षको जुनपछि क्लब छाड्ने स्पष्ट पारेका छन् । बार्सिलोनासँगको उनको सम्झौता जुनमा सकिँदै छ र सर्जियोले क्लबसँगको आफ्नो सम्झौता नविकरण नगर्ने बताएका छन् । सर्जियो एक दशकभन्दा बढी समयदेखि बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

"बार्सिलोनामा यो मेरो अन्तिम सिजन हो भनेर घोषणा गर्ने समय आएको छ। यो एउटा अविस्मरणीय यात्रा हो। यो सम्मान, सपना, गौरवको कुरा हो।," बुस्केट्सले इन्स्टाग्राममा भने।

बुस्केट्सले जारी सिजनअघि बार्सिलोनाबाट आठ पटक ला लिगा र तीन पटक च्याम्पियन्स लिग जितिसकेका छन्। क्लब फेरि एकपटक ला लिगालाई आफ्नो बनाउन तयार छ । बार्सिलोनाले ला लिगाको उपाधि फेरि जित्यो भने चार वर्षपछि पहिलो पटक जित्ने छ ।

३४ वर्षीय सर्जियो सन् २००८ मा बार्सिलोना आएका थिए । उनका पूर्व प्रशिक्षक पेप गार्डियोलाले उनलाई क्लबमा सामेल हुन मद्दत गरेका थिए। त्यसबेलादेखि, सर्जियो क्लबको मुख्य खेलाडी भएका छन्। उनले टोलीबाट अहिलेसम्म ७ सयभन्दा बढी खेल खेलिसकेका छन् ।

बार्सिलोना छोडेर बुस्केट्सले कुन क्लबमा जाने भनेर खुलाएका छैनन । यद्यपि, स्पेनिस रिपोर्टका अनुसार उनी साउदी अरेबियाको टोलीमा जान सक्नेछन्। उनले अमेरिकी लिग खेल्न इन्टर मिलानमा जान सक्ने पनि सम्भावना रहेको छ।

बार्सिलोनाका प्रशिक्षक जाभि हर्नान्डेजले सर्जियोलाई अर्को सिजनसम्म क्लबमा राख्न चाहेको तर उनी कुन क्लबबाट खेल्ने भन्ने निर्णय सर्जियोले गर्ने बताए। सर्जियो र हर्नान्डेज धेरै वर्षदेखि टोलीको लागि मिडफिल्डमा सँगै खेलेका छन्।

बार्सिलोनाका पूर्व फरवार्ड लियोनल मेस्सीले साउदी लिग खेल्ने चर्चा पनि बाहिर आएको छ । मेस्सी र बुस्केट्स घनिष्ठ साथी हुन् । मेस्सी अर्को सिजनबाट साउदी लिग खेल्ने सम्भावना छ । रोनाल्डो पनि साउदी लिग खेली रहेका छन । अन्य ठूला खेलाडीहरुले पनि यो लिग खेल्ने अनुमान गरिएको छ ।

बुस्केट्सले स्पेनका लागि २०१० मा विश्वकप र २०१२ मा युरोपियन च्याम्पियनसिप जितेका थिए। डिसेम्बरमा उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। उनले करिब १५ वर्ष देशको लागि खेले ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.