लेख विवरण

सर्लाहीमा प्रदेश स्तरिय भलिबल प्रतियोगिता हुने

सर्लाहीमा प्रदेश स्तरिय भलिबल प्रतियोगिता हुने

सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

जिल्लाको उत्तर–पूर्वी चुरेभेगस्थित ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा यही असोज १३ गतेदेखि १५ गतेसम्म प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता संचालन हुने भएको छ ।

शनिबार आयोजक कालिन्जोर युवा समूहले वडा कार्यालयको सभा हलमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगितामा आयोजक सहित मधेश प्रदेशको आठै जिल्लाका टिमको सहभागिता रहने आयोजक कालिन्जोर युवा समूहले जनाएको छ ।

वडा कार्यालयकै मैदानमा आयोजना हुने प्रतियोगिताको बिजेताले १ लाख १ हजार, उपबिजेताले ७५ हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष सुवास खड्काले बताए ।

उक्त क्षेत्रका पर्यटकीय स्थल राजारानी थुम्को, तुरतुरे झरना, पार्क, वनलगायत पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको उनीहरुको भनाई छ । कार्यक्रममा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने र खेलकै माध्यमबाट रमणीय क्षेत्रको रुपमा रहेको कालिन्जोरलाई देशैभरी चिनाउने समितिका अध्यक्ष खड्काले बताए ।

प्रतियोगिता आयोजना गर्न १० देखि १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको समुहका आर्थिक समिति संयोजक भिमबहादुर खड्काले बताए ।

यस प्रतियोगितालाई सफल बनाउन स्थानीयवासी, उद्योगी, व्यवसायीलगायत सबैसँग उन्ले आग्रह समेत गरे । प्रतियोगिता संचालनको लागि आर्थिक ब्यवस्थापनको भरपर्दो माध्यम नरहेकोले सर सहयोगबाट प्रतियोगिता आयोजना गर्न लागिएको खड्काले बताए ।

जिल्ला भलिबल संघ सर्लाहीका अध्यक्ष रामाशंकर चौधरीले कालिन्जोरमा हुन लागेको प्रदेश स्तरीय यो प्रतियोगितापछि सर्लाहीमा भलिबल खेलको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

खेलकै माध्यमबाट गाउँमा रहेका विकृति बिसंगतीलाई हटाउँदै स्थानीय युवाहरुलाई सामाजिक क्षेत्रमा सकृय बनाउने आयोजकको भनाई छ ।

यस्तै, पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रुपमा उपस्थित भएका ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले कालिन्जोर युवा क्लब आयोजक भएपनि अर्को वर्षबाट नगरपालिका आफै मुख्य आयोजक बनेर प्रतियोगितालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.