सवित्राले युरोपमा फुटबल खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)ले युरोपको फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्ने मौका पाएकी छन् ।
सावित्रालाई इजरायली क्लब हापोएल रानाना एएफसीले अनुबन्ध गरेको हो । हापोएलले मङ्गलबार सावित्रालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ । सावित्रा यसअघि भारतको महिला लिगमा अनुबन्ध हुँदै आएकी थिइन् ।
घरेलु फुटबलमा विभागीय टोली नेपाल एपिएफ क्लबबाट खेल्दै आएकी सावित्राले भारतमा दुई फरक क्लबबाट खेल्दै तीन वटा लिग उपाधि जितिसकेकी छिन् ।
उनले हालै मात्र भारतको महिला लिगमा गोकुलम केरलाबाट खेल्दै टोलीलाई लिग च्याम्पियन बनाएकी थिइन् । लिगमा २९ गोल गर्दै उनले सर्वाधिक गोल कर्ताको उपाधि समेत जितेकी थिइन् ।
गोकुलम अघि उनले सेथु एफसीबाट भारतको लिग खेलेकी थिइन् । भारतको लिगमा सानदार प्रदर्शन गरेपछि सावित्रा युरोपेली क्लबको आँखामा परेकी हुन् ।

टिप्पणी लेख्नुहोस्